वीरगञ्ज । वीरगञ्जमा मुख्य कार्यालय रहेको स्काइलाइन इन्फ्रा लिमिटेड ले सर्वसाधारणका लागि २० प्रतिशत शेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको विशेष साधारण सभा वैशाख ११ गते वीरगञ्जस्थित होटल सरोबर मा सम्पन्न भएको हो।
कम्पनीका सञ्चालक समिति अध्यक्ष प्रतिक अग्रवाल को अध्यक्षतामा बसेको सभाले कुल जारी पूँजीको २० प्रतिशत बराबर शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो। साथै, आईपीओ निष्काशनसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने तथा संस्थापक समूहको बाँकी शेयर प्रिमियममा बिक्री गर्ने अधिकारसमेत प्रदान गरिएको छ।
कम्पनीले हाल वीरगञ्जको आदर्शनगरमा ‘स्काइलाइन मॉल’ अन्तर्गत बहुआयामिक ९ तले आधुनिक व्यावसायिक भवन सञ्चालनमा ल्याइसकेको छ। उक्त संरचनाको भुईँ तलामा ब्रान्डेड रिटेल पसलहरू, पहिलो तलामा क्यासिनो तथा दोस्रो तलामा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा रहेका छन्।
तेस्रो तलादेखि माथिका तलाहरूमा सरोवर समूहको व्यवस्थापनमा चारतारे होटल सञ्चालन भइरहेको छ। करिब ६० कोठा क्षमताको उक्त होटलमा रेष्टुरेन्ट, बैंक्वेट हल, सभा–सम्मेलन कक्ष तथा रुफटप रेष्टुरेन्टजस्ता सुविधा उपलब्ध छन्।
कम्पनीले ‘स्काइलाइन मॉल’ परियोजनालाई “Your New Destination” का रूपमा विकास गर्ने लक्ष्य राख्दै वीरगञ्जलाई आधुनिक व्यापारिक हबका रूपमा स्थापित गर्ने उद्देश्य लिएको जनाएको छ।
२०८१ सालदेखि सञ्चालनमा आएको कम्पनी आर्थिक वर्ष २०८१/८२ मै मुनाफामा पुगिसकेको र यसको नेटवर्थ समेत सकारात्मक रहेको जानकारी दिइएको छ। हाल कम्पनीको कुल जारी पूँजी १७५ करोड रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर आगामी आर्थिक वर्ष २०८२/८३ मा सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरिएको छ।
आईपीओ निष्काशनपछि कम्पनीको पूँजी विस्तार भई आगामी परियोजनाहरूलाई थप मजबुत रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।