×

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले ईन्धनको निरन्तर मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवामा भइरहेको अस्वाभाविक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मञ्चद्वारा जारी प्रेस विज्ञप्तिमा खाद्यान्न, इन्धन, यातायात लगायत जीवनसँग प्रत्यक्ष सम्बन्धित वस्तु तथा सेवाको मूल्य लगातार बढ्दै जाँदा सर्वसाधारणको जीवनयापनमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा विशेषगरी कम आय भएका तथा मध्यम वर्गीय परिवारहरू अहिलेको महँगीबाट सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ। बजार अनुगमन प्रभावकारी नभएको, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति तथा मनपरी मूल्य निर्धारण जस्ता गतिविधि बढ्दै गएको भन्दै मञ्चले सरोकारवाला निकायलाई तत्काल कडा नियमन गर्न आग्रह गरेको छ।

मञ्चले सडक विस्तारका क्रममा घरधनी तथा व्यवसायीलाई पर्याप्त समय नदिई संरचना हटाइएको विषयप्रति पनि असन्तुष्टि जनाएको छ। साथै, सिमानाकामा कडाइ, कृत्रिम अभाव र महँगीका कारण उपभोक्ताको जीवन झन् कष्टकर बन्दै गएको उल्लेख गर्दै नियामक निकाय र प्रशासनको मौनताले बजारमा अराजकता बढेको जनाएको छ।

खसीको मासुको मूल्य १ हजार रुपैयाँबाट १२ सय रुपैयाँसम्म कसको सहमतिमा निर्धारण गरिएको हो भन्ने प्रश्न उठाउँदै मञ्चले व्यवसायीहरूको नाममा लुटतन्त्र मच्चिएको हो कि भन्ने आशंका समेत व्यक्त गरेको छ। यस विषयमा नियामक निकायले स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।

त्यस्तै, मुख्य सडकबाहेकका क्षेत्रमा घरधनीहरूले अत्यधिक भाडा र पेश्की माग्ने प्रवृत्ति बढेको भन्दै स्थानीय सरकारको भूमिका कमजोर भएको आरोप पनि लगाइएको छ। यस्तो अवस्थामा उपभोक्ता हितको संरक्षणका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने मञ्चको माग छ।

मञ्चका केन्द्रीय सदस्य अजित कुमार भुजेल द्वारा जारी विज्ञप्तिमा बजारलाई व्यवस्थित र उपभोक्ता मैत्री बनाउन प्रशासनले तत्काल हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

Back to top