×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका स्थानीयवासीहरूले ठेकेदार हरिनारायण र पप्पु कन्स्ट्रक्सनको लापरवाहीका कारण ८ वर्षदेखि निर्माण कार्य अलपत्र परेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।

स्थानीयका अनुसार ८ वर्षअघि भएको ठेका सम्झौताअनुसार निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अधुरै रहेको छ। यसले दैनिक जनजीवन प्रभावित हुनुका साथै विकास निर्माणप्रति निराशा बढाएको उनीहरूको गुनासो छ। समस्या समाधानको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापनपत्र बुझाएका छन् र काम तत्काल सम्पन्न गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यता, वीरगञ्ज महानगर क्षेत्रभित्रका सडक निर्माण कार्य बजेट अभाव र विभिन्न अवरोधका कारण अघि बढ्न सकेको छैन। सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले करिब १७ करोड रुपैयाँ बराबरको बिल हालसम्म भुक्तानी नगर्दा निर्माण कम्पनीको काम प्रभावित भएको हो।

निर्माण कम्पनी स्वच्छन्द–पप्पु–युनाइटेड बिल्डर्स संयुक्त उपक्रमका प्रतिनिधि प्रभु साहका अनुसार २०७५ असार ९ गते १७ वटा सडक निर्माणको जिम्मा लिएको भए पनि हालसम्म १२ वटा मात्रै सडक निर्माण गर्न सकिएको छ, जुन करिब ७५ प्रतिशत काम सम्पन्न भएको अवस्था हो।

उनका अनुसार बाँकी ३ वटा सडक निर्माणमा साइट क्लियर नभएको, घर–टहरा नहटाइएको, सडक क्षेत्रमा ५३६ विद्युत् पोल रहेको तथा कतिपय स्थानमा स्थानीयले अदालतबाट अन्तरिम आदेश ल्याएकाले काम अघि बढ्न नसकेको हो।

सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार बिल पेश भएको ३० दिनभित्र भुक्तानी गर्नुपर्ने प्रावधान भए पनि लामो समयसम्म रकम नपाउँदा निर्माण कार्य ठप्प भएको कम्पनीको गुनासो छ।

ठेक्का लागेको ३ वर्षभित्र सम्पन्न हुनुपर्ने योजना ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासी र निर्माण कम्पनी दुवै पक्ष असन्तुष्ट बनेका छन्। निर्माण कम्पनीले साइट क्लियर नभएसम्म काम अगाडि बढाउन असम्भव रहेको भन्दै सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

Back to top