वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बाराले सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड लाइसेन्स) सम्बन्धी मौज्दात र वितरणबारे महत्त्वपूर्ण सूचना जारी गरेको छ ।
कार्यालयका अनुसार अनलाइन वा अन्य माध्यमबाट लाइसेन्स ‘प्रिन्ट’ भइसकेको देखिए पनि कार्डहरू हालसम्म भौतिक रूपमा कार्यालयमा प्राप्त भइसकेका छैनन् । सोही कारण सेवाग्राहीहरूले प्रिन्ट भएको देखेर कार्यालयमा धाउने क्रम बढेपछि कार्यालयले स्पष्टीकरण दिएको हो ।
विभागबाट कार्डहरू ढुवानी भई कार्यालयमा नआएकाले सेवाग्राहीलाई हतारमा कार्यालय नआउन आग्रह गरिएको छ । कार्यालयले पहिले आफ्नो कार्ड उपलब्ध भए नभएको सुनिश्चित गरेर मात्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
सेवाग्राहीको सहजताका लागि कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज “यातायात व्यवस्था कार्यालय कलैया” मार्फत नियमित रूपमा अपडेट दिने जनाएको छ । सो पेजमा प्रकाशित नामावली वा विवरण हेरेर मात्र कार्यालयमा आउन सूचनामा उल्लेख गरिएको छ ।