वीरगञ्ज । वीरगञ्जको मुर्ली चोकस्थित ‘दिलसाद फ्रेस हाउस’ले खसीको मासुको मूल्य लिएर बाख्राको मासु बिक्री गरेको आरोप लागेपछि स्थानीय युवाहरू आक्रोशित भएका छन्।
सोमबार पर्साका एक पूर्व जनप्रतिनिधिको जन्मदिनको अवसरमा मुर्लीस्थित उक्त पसलबाट ६ किलो मासु खरिद गरी भोजको तयारी गरिएको थियो। तर मासु पकाउँदा राम्रोसँग नपाक्ने र शंकास्पद देखिएपछि उक्त मासु बाख्राको रहेको थाहा पाएपछि सहभागी युवाहरू आक्रोशित भएका हुन्।
आक्रोशित युवाहरूले पसलेसँग रकम फिर्ता लिने बताएका थिए । घटनापछि स्थानीय स्तरमा खाद्य गुणस्तर र उपभोक्ता अधिकारप्रति गम्भीर प्रश्न उठेको छ।
यता, खसीको मासुको मूल्य १ हजार रहेपनि ‘दिलसाद फ्रेस हाउस’ ले प्रतिकिलो १२ सय रुपैयाँका दरले मासु बिक्री गर्दै आएको स्थानीयको भनाइ छ।
यसैबीच, उक्त विषयमा ‘दिलसाद फ्रेस हाउस’का सञ्चालक नसिमसँग फोन सम्पर्क गर्दा उनले बाख्राको मासु बिक्री गरेको आरोप अस्वीकार गर्दै “हामीले बाख्राको मासु बिक्री गरेका छैनौँ” प्रतिक्रिया दिएका छन्।
यस विषयमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले समेत आपत्ति जनाउँदै खसीको मासुको मूल्य १ हजारदेखि १२ सय रुपैयाँसम्म कसको सहमतिमा निर्धारण गरिएको हो भन्ने प्रश्न उठाएको छ।
मञ्चले बजारमा मनपरी मूल्य निर्धारण र उपभोक्ता ठगीजस्ता गतिविधि बढिरहेको भन्दै नियामक निकायलाई तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ।