वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका दर्जनौँ विद्युतीय स्कुटर (ई–स्कुटर) हरूको विस्तृत सूची सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागको निर्देशनअनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका यी ई–स्कुटरहरू विभिन्न ब्रान्ड तथा मोडलका रहेका छन् । सबै सवारी साधनहरू आवश्यक भन्सार प्रक्रिया पूरा नगरी र वैध कागजातबिना नै सीमावर्ती क्षेत्रबाट ल्याइएका थिए ।
भन्सार कार्यालयले सम्बन्धित सवारी धनी वा दाबीदारहरूलाई तोकिएको समय सीमाभित्र स्वामित्व प्रमाणित गर्ने आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ । उक्त समय सीमाभित्र सम्पर्कमा नआएमा प्रचलित भन्सार ऐन तथा सम्बन्धित कानुनबमोजिम जफत प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।
पछिल्लो समय सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी विद्युतीय सवारी साधन भित्र्याउने घटना बढेपछि वीरगञ्ज भन्सार कार्यालयले निगरानी तथा नियन्त्रण कडा पारेको छ । राजस्व चुहावट रोक्न यस्ता अवैध आयातलाई निरन्तर कारबाही गरिने भन्सार कार्यालयले जनाएको छ ।