वीरगञ्ज । यात्रा डेलीले ‘वीरगञ्जको मुर्लीमा खसीको मूल्य लिएर बाख्राको मासु बिक्री गरेको आरोप, स्थानीय युवा आक्रोशित’ शीर्षकमा प्रकाशित समाचारपछि वीरगञ्ज महानगरपालिकाको पशु सेवा शाखाले मासु व्यवसायी तथा विक्रेताहरूलाई कडा निर्देशन जारी गरेको छ ।
समाचारमा उल्लेख भएअनुसार मुर्ली चोकस्थित दिलसाद फ्रेस हाउसले खसीको मासुको मूल्य प्रति किलो १ हजारदेखि १२ सय रुपैयाँ लिएर बाख्राको मासु बिक्री गरेको आरोप लागेपछि स्थानीय युवाहरू आक्रोशित भएका थिए ।
सोमबार पर्साका एक पूर्व जनप्रतिनिधिको जन्मदिनको भोजका लागि ६ किलो मासु खरिद गर्दा उक्त मासु राम्रोसँग नपाक्ने र शङ्कास्पद देखिएपछि बाख्राको भएको पुष्टि भएको थियो ।
घटनाले उपभोक्ता अधिकार, खाद्य गुणस्तर र बजारमा मनपरी मूल्य निर्धारणको विषयलाई सार्वजनिक रूपमा उठाएको थियो । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले समेत आपत्ति जनाउँदै नियामक निकायलाई तत्काल छानबिन गर्न माग गरेको थियो ।
यात्रा डेलीको समाचार प्रकाशित भएपछि वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पशु चिकित्सक डा. सुदिप कुमार शर्माले तत्काल सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण मासु व्यवसायी तथा विक्रेताहरूलाई निर्देशन दिएका छन् ।
“उपर्युक्त सम्बन्धमा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका केही मासु पसलहरूबाट बाख्राको मासुलाई खसी/बोकाको मासु भनी भ्रामक तरिकाले विक्री वितरण भइरहेको भन्ने सम्बन्धमा प्राप्त जनगुनासोप्रति यस महानगरपालिका पशु सेवा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । उपभोक्ताको अधिकार संरक्षण, खाद्य स्वच्छता तथा व्यापारिक आचारसंहिता कायम राख्नु सबै व्यवसायीहरूको दायित्व हो । यस सन्दर्भमा, महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण मासु व्यवसायी तथा विक्रेताहरूलाई मासुको सही पहिचान खुलाइ पारदर्शी रूपमा मात्र विक्री-वितरण गर्न, कुनै पनि किसिमको गलत सूचना, मिसावट वा भ्रामक गतिविधि नगर्न/नगराउन यसै सूचना मार्फत कडाइका साथ निर्देशन दिइन्छ । सूचनाको उल्लङ्घन गरी यस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ । अतः सम्बन्धित सबै पक्षलाई यस सूचनाको पूर्ण पालना गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।
महानगरपालिकाको सूचनाले स्थानीय बजारमा मासुको गुणस्तर र पारदर्शिता कायम गर्न महत्त्वपूर्ण कदम भएको स्थानीय उपभोक्ताहरूले बताएका छन् । यात्रा डेलीले निरन्तर उपभोक्ता हितका विषयमा समाचार प्रकाशित गर्दै आएको छ ।