वीरगञ्ज । भारतको झारखण्ड राज्यस्थित राँचीका सात वर्षीय बालक ईशांक सिंहले असाधारण साहस प्रदर्शन गर्दै समुद्र पौडीमार्फत ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।
सिंहले २०२६ अप्रिल ३० तारिखमा तलाइमन्नार (श्रीलङ्का) बाट धनुष्कोडी (भारत) सम्म करिब २९ देखि ३० किलोमिटर दूरी सफलतापूर्वक पार गरेका हुन् ।
‘मिशन समन्दर’ नाम दिइएको उक्त अभियानअन्तर्गत ईशांकले करिब ९ घण्टा ५० मिनेट लगाएर उक्त दूरी पूरा गरेका थिए । अत्यन्त कम उमेरमा यस्तो कठिन समुद्री यात्रा सम्पन्न गर्नु आफैँमा ऐतिहासिक उपलब्धि मानिएको छ ।
सिंहले यस चुनौतीपूर्ण अभियानका लागि राँचीमै दैनिक ४ देखि ६ घण्टासम्म कडा अभ्यास गर्दै आएका थिए । समुद्री धाराको तीव्र बहाव, अनिश्चित मौसम तथा समुद्री जीवजन्तुको जोखिमबिच उनले साहसपूर्वक पौडी पूरा गरेका हुन् ।
उनको उपलब्धि गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउने लक्ष्य राखिएको छ । आधिकारिक रूपमा मान्यता प्राप्त भए उनी विश्वकै कम उमेरमा यस्तो दूरी समुद्रमा पौडी पार गर्ने बालकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा सिंहको साहसिक प्रयासको व्यापक प्रशंसा भइरहेको छ ।