×

वीरगञ्ज । बजारमा खाना पकाउने ग्यासको अभाव केही हदसम्म कम भए पनि पूर्ण सिलिन्डर कहिले पाइने भन्ने अन्योलता अझै कायम रहेको छ। आधा सिलिन्डर भर्ने व्यवस्थाले तत्कालीन समस्या केही समाधान गरे पनि उपभोक्तामा पूर्ण ग्यास आपूर्तिको प्रतीक्षा बढ्दो छ।

ग्यास व्यवसायीहरूले छिट्टै पूरा सिलिन्डर वितरणमा जाने दाबी गरिरहेका छन्। तर नेपाल आयल निगम ले भने पूर्ण सिलिन्डर वितरणबारे कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन।

अन्तर्राष्ट्रिय आपूर्ति शृंखला खलबलिँदा ग्यास अभाव चर्किएपछि केही दिन कृत्रिम अभावसमेत देखिएको थियो। त्यसपछि सरकारी कडाइका कारण वितरणमा सुधार आए पनि आपूर्ति अझै पूर्ण रूपमा सहज हुन सकेको छैन।

कतिपय उपभोक्ताले एकैपटक धेरै सिलिन्डर भरेर लैजान थालेपछि बजारमा असन्तुलन देखिएको व्यवसायीहरूको भनाइ छ। यसअघि एक सिलिन्डर भर्नसमेत ४–५ दिन कुर्नुपर्ने अवस्था रहेको थियो।

पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण विश्वव्यापी इन्धन संकटले नेपालमा पनि असर पारेको हो। समस्या नियन्त्रण गर्न निगमले आधा सिलिन्डर (७.१ केजी) मात्र भर्ने व्यवस्था लागू गरेको थियो। तर अहिले उपभोक्ताहरू आधा ग्यास लिन झन्झट मान्न थालेका छन्।

तथ्यांक अनुसार अप्रिल महिनामा करिब ३४–३५ हजार मेट्रिक टन ग्यास आयात भएको छ, जबकि नेपालमा मासिक माग करिब ४५–४६ हजार मेट्रिक टन रहेको छ। कुल खपतको करिब ४० प्रतिशत काठमाडौँ उपत्यकामा मात्रै हुने गरेको निगमले जनाएको छ।

आयातमा निर्भरता, बजारमा फैलिने अभावको हल्ला, उपभोक्ताले ग्यास थुपार्ने प्रवृत्ति र केही विक्रेताको अनियमितताले समस्या झन् बढाएको देखिन्छ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको प्रभाव नेपालमा पनि परेको छ। निगमले हालै प्रतिसिलिन्डर १५० रुपैयाँ मूल्य बढाएको छ। अब १४.२ केजीको पूरा सिलिन्डरको मूल्य २ हजार १६० रुपैयाँ र ७.१ केजीको आधा सिलिन्डरको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ।

सरकारले आपूर्ति सहज बनाउन पहल जारी राखेको जनाए पनि उपभोक्ताहरू भने पूर्ण ग्यास वितरण कहिलेदेखि नियमित हुन्छ भन्ने प्रतीक्षामा छन्।

Back to top