पत्रकारिता र कला–साहित्यका लागि प्रदान गरिने विश्व प्रतिष्ठित पुलित्जर अवार्डअन्तर्गत यो वर्षको ‘फिचर फोटोग्राफी’ विधाको पुरस्कार अमेरिकी समाचार संस्था द वासिङ्टन पोस्टका फोटो पत्रकार जाही चिक्वेन्डिउले पाएका छन्।
वासिङ्टन पोस्टमा प्रकाशित एक दम्पतीको मार्मिक फोटो कथाका लागि उनलाई पुरस्कृत गरिएको हो।
फोटो कथामा नयाँ सन्तानको आगमनदेखि ठूलो आन्द्रा कोलोनको क्यान्सरबाट बाबुको मृत्युसम्मलाई समेटिएको छ।
जाही सन् २००१ देखि वासिङ्टन पोस्टमा कार्यरत छन्। उनले विगतमा इराकमाथिको अमेरिकी आक्रमण, केन्याको गरिबी, डार्फर क्षेत्रको जातीय नरसंहारलगायत घटनालाई क्यामेरामा कैद गरेका थिए।
त्यस्तै प्यालेस्टिनी फोटो पत्रकार साहेर अलघोहाराको गाजाको मानवीय संकट देखाउने तस्बिरले ‘ब्रेकिङ न्यूज फोटोग्राफी’ विधाअन्तर्गतको पुलित्जर अवार्ड जितेको छ।
सर्वसाधारणको निगरानी गर्न सिलिकन भ्यालीमा तयार गरिएको, चीनमा थप सुदृढ बनाइएको, विश्वभर फैलाइएको र त्यसपछि अमेरिका ल्याएर सीमा क्षेत्रमा निगरानीका लागि प्रयोग गरिएको एउटा अत्याधुनिक प्रविधिबारेको अनुसन्धानात्मक समाचारले ‘इन्टरनेसनल रिपोर्टिङ अवार्ड’ प्राप्त गर्न सफल भएको छ।
एसोसिएट प्रेस (एपी) मा प्रकाशित यो समाचार डेक कार्ड, गारान्स बुर्के, बाइरोन ताउ, अनिरुद्ध घोसाल र येल ग्राउरले तयार गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसरी ‘स्वार्थ बाझिने सिद्धान्त’ उल्लंघन गर्दै आफ्नो परिवार र सहयोगीहरूका लागि शक्ति दुरुपयोग गरेर आय(आर्जनको अवसर खोलिदिएको विषयमा न्यूयोर्क टाइम्सले तयार गरेको समाचारले ‘इन्भेस्टिगेटिभ रिपोर्टिङ अवार्ड’ जितेको छ।
त्यस्तै रोयटर्सका जेफ हर्डिङ र इन्जेन थामले मेटा कम्पनीका सामाजिक सञ्जाल ९(फेसबुक र इन्स्टाग्राम) प्रयोगकर्ताहरू ठगी, खराब विज्ञापन वा एआई ‘मेनिपुलेसन’को सिकार भइरहेको विषयमा आधारित समाचारका लागि ‘बिट रिपोर्टिङ अवार्ड’ बाट पुरस्कृत भएका छन्।
स्थानीय समाचार विधाअन्तर्गत आप्रवासनसम्बन्धी नियन्त्रण र नियमन गर्ने उच्च निकाय अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट ९आइस० ले गरेको आप्रवासीहरूको धरपकडसम्बन्धी श्रृंखलाबद्ध रिपोर्टिङका लागि द सिकागो ट्रिब्युन पुरस्कृत भएको छ।
साहित्यतर्फको आख्यान विधाअन्तर्गत डेनियल काउजले एजेन्डाउनका लागि पुलित्जर जितेका छन्। उत्कृष्ट ऐतिहासिक सिर्जनातर्फको पुरस्कार जिल लेपोरको पुस्तक ‘दी पिपुलः अ हिस्ट्री अफ द युएस कन्स्टिच्युसन’ले पाएको छ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयले प्रदान गर्ने यो पुरस्कार सन् १९१७ देखि प्रदान गर्न थालिएको हो। पत्रकारिताका विभिन्न विधा तथा कला(साहित्यका विभिन्न २३ वटा विधामा बर्सेनि यो पुरस्कार प्रदान गरिन्छ। प्रत्येक विधाका विजेताले १५ हजार अमेरिकी डलर पाउँछन्।