फाइल तस्बिर ।
वीरगञ्ज । भारतबाट खुद्रा रूपमा खरिद गरेर ल्याइने सामग्रीमा नेपाली सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि वीरगञ्ज बजारमा पछिल्लो समय व्यापारिक चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
यसअघि दैनिक किनमेलदेखि ठुला खरिदसम्मका लागि नेपालका स्थानीय उपभोक्ताहरू भारतीय सीमापारि रक्सौल, बेतिया, मोतिहारी बजार पुग्ने गरेका थिए । तर, नेपाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार कडाइ गरेपछि नेपाली बजारमै किनमेल गर्ने प्रवृत्ति ह्वात्तै बढेको हो । भन्सार नीतिले वीरगञ्ज बजारलाई वर्षौँदेखिको सुनसानबाट मुक्त गराएको छ ।
बजारमा ग्राहकको चाप बढेसँगै व्यापारमा सुधार देखिन थालेको छ । स्थानीय व्यवसायीहरू उत्साहित छन् । अब बजार फेरि जिउँदो भएको उनीहरूको भनाइ छ ।
वीरगञ्जका इलेकट्रोनिक्स व्यवसायी दीपक सर्राफले पहिले नेपाली उपभोक्ताहरू दुई किलो चिनी किन्न पनि सीमा पारि जाने गरेको गुनासो गरे । “अहिले भने त्यस्ता सामान्य सामग्री पनि नेपाली बजारबाटै खरिद गर्न थालेका छन् । यसले हाम्रो व्यापारमा सकारात्मक प्रभाव पारेको छ,” उनले भने, “मोबाइल, टिभी र अन्य इलेकट्रोनिक्स सामानमा पनि ग्राहक बढेका छन् । पहिलेको तुलनामा व्यापार २०–२५ प्रतिशतले बढेको अनुभव भएको छ ।”
क्लोथिङ र रेडिमेड गार्मेन्ट्सका व्यवसायी रामेश्वर साहले पनि भन्सार नीति प्रति सन्तुष्टि व्यक्त गरे । “विवाह, व्रतबन्ध र अन्य सामाजिक कार्यक्रमका लागि लुगाफाटा किन्न भारतीय बजार जाने चलन थियो । अहिले उही ग्राहकहरू हाम्रो पसलमा आउन थालेका छन्,” उनले भने, “पहिले हाम्रो पसलमा दिनमा १०–१२ जना ग्राहक आउँथे । अहिले ४०–५० जना पुगेका छन् । यसले हामीलाई नयाँ आशा दिएको छ ।”
किराना तथा खाद्य सामग्रीका व्यवसायी विनोद यादवले पनि आफ्नो अनुभव सुनाए । “चिनी, तेल, मसला, बिस्कुटजस्ता दैनिक उपभोग्य वस्तुमा पनि ग्राहक बढेका छन् । पहिले सीमा पारिबाट सस्तोमा ल्याउने गरेका थिए । अब घर नजिकैबाटै किन्न थालेपछि हाम्रो व्यापारमा राम्रो सुधार आएको छ,” उनले बताए ।
व्यवसायीहरूका अनुसार यो सुधार दीर्घकालीन होस् भन्ने अपेक्षा छ । तर, अपेक्षित स्तरमा व्यापार अझै नपुगेको उनीहरूको भनाइ छ । “भन्सार कडाइले तत्काल प्रभाव पारेको छ, तर पूर्वाधार र बजार व्यवस्थापनमा सुधार भएमा मात्र पूर्ण लाभ लिन सकिन्छ,” दीपक सर्राफले थपे ।
यता, उपभोक्ताहरू भने भन्सार कडाइका कारण सास्ती खेप्नुपरेको गुनासो गरिरहेका छन् । वीरगञ्जका अर्जुन चौधरीले छोरीको विवाहका लागि लुगा किन्न भारतको बेतिया बजार पुगेका थिए । फर्किने क्रममा सीमामा ठुलो समस्या भोग्नुपरेको उनले बताए ।
“१२ हजार ४०० रुपैयाँ बराबरको लुगा ल्याउँदा भन्सार कार्यालयले ७ हजार ९४५ रुपैयाँ कर तिर्न बाध्य पार्यो,” चौधरीले भने, “प्रहरीसँग विवादसमेत भयो । सम्झाइभन्दा दबाब बढी भयो । सीमामा यति झन्झट भएपछि अब कहिल्यै भारतीय बजार जान मन लाग्दैन ।”
अर्का उपभोक्ता रित्ता देवीले पनि आफ्नो अनुभव साटिन् । “दैनिक किराना सामान किन्न भारतीय बजार जान्थेँ, सस्तो पर्थ्यो । अहिले नेपाली बजारमा किन्नुपर्दा १०–१५ प्रतिशत महँगो पर्छ,” उनले गुनासो गरिन्, “तर, सीमाको झन्झट जोगाउन नेपाली बजारमै किन्न थालेकी छु ।”
वीरगञ्जका अर्का उपभोक्ता सञ्जय यादवले भन्सार कडाइले स्थानीय व्यापार बढाएको भए पनि उपभोक्तालाई अतिरिक्त आर्थिक भार थपेको बताए । सरकारले करको दर यथोचित राख्नुपर्छ र प्रक्रिया सरल बनाउनुपर्छ,” उनले भने ।
भन्सार कडाइको नीतिले एकातिर नेपाली बजारलाई गति दिएको छ भने अर्कातिर उपभोक्ताहरूले झन्झट र थप खर्चको सामना गर्नुपरेको छ । व्यवसायीहरूले यसलाई अवसरको रूपमा लिएका छन् भने उपभोक्ताहरूले सहज र सस्तो विकल्पको खोजी गरिरहेका छन् ।
नीतिले दीर्घकालमा नेपाली अर्थतन्त्र र स्थानीय व्यापारलाई कति फाइदा पुर्याउँछ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने देखिन्छ । वीरगञ्ज बजारले फेरि पुरानो चमक फर्काउने हो कि भन्नेमा स्थानीयहरू आशावादी छन् ।