वीरगञ्ज । वीरगञ्जस्थित सकाइलाइन मलमा सञ्चालनमा रहेका सरोवर पोर्टिको होटेल र सोही मलको माथिल्लो तलामा रहेको ‘द नेस्ट एट दी टप’ रेस्टुराँले खाद्य स्वच्छता क्षेत्रमा उच्चतम मान्यता हासिल गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले दुवै प्रतिष्ठानलाई ‘खाद्य स्वच्छता स्तर (क)–अतिउत्तम’ को प्रमाण–पत्र प्रदान गरेको हो ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमअनुसार गरिएको स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र आवश्यक कागजात परीक्षणपछि मङ्गलवार प्रमाण–पत्र जारी गरिएको जनाइएको छ ।
‘स्तर (क)–अतिउत्तम’ स्तरीकरण कार्यक्रमअन्तर्गत प्रदान गरिने सबैभन्दा उच्च श्रेणी हो । उक्त श्रेणी प्राप्त गर्न प्रतिष्ठानले भान्सा तथा सेवा क्षेत्रको उच्चस्तरीय सरसफाइ कायम गरेको, गुणस्तरीय र सुरक्षित कच्चा पदार्थ प्रयोग गरेको, खाद्य सामग्रीको उचित भण्डारण तथा तापक्रम व्यवस्थापन प्रणाली अवलम्बन गरेको, खाना तयारी र परोस्ने क्रममा स्वच्छता मापदण्डको पूर्ण पालना गरेको हुनुपर्छ । साथै, कर्मचारीको व्यक्तिगत सरसफाइ र नियमित स्वास्थ्य परीक्षण, प्रभावकारी फोहर व्यवस्थापन, कीट नियन्त्रण प्रणालीको कार्यान्वयन तथा उपभोक्ता स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको व्यवस्थापन अभ्याससमेत अनिवार्य रूपमा लागू गरिएको हुनुपर्ने मापदण्ड रहेको छ । डिभिजन कार्यालयका प्राविधिक टोलीले उक्त सबै पक्षको सूक्ष्म अध्ययन तथा निरीक्षणपछि मात्र ‘अतिउत्तम’ श्रेणी प्रदान गरेको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका अनुसार खाद्य स्वच्छता स्तरीकरण कार्यक्रमको मुख्य उद्देश्य उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउनुका साथै होटेल तथा रेस्टुराँ व्यवसायमा उत्तरदायित्व र पारदर्शिता अभिवृद्धि गर्नु हो । मापदण्ड पूरा गर्ने प्रतिष्ठानलाई मात्र यस्तो उच्चस्तरीय प्रमाणीकरण प्रदान गरिने व्यवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ ।
सकाइलाइन मलजस्तो व्यावसायिक केन्द्रमा सञ्चालित दुई प्रतिष्ठानले ‘अतिउत्तम’ स्तर हासिल गर्नु वीरगञ्जको होटेल तथा आतिथ्य क्षेत्रमा सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । यसबाट उपभोक्तामा विश्वास अभिवृद्धि हुनुका साथै अन्य व्यवसायीलाई पनि खाद्य स्वच्छता र गुणस्तर कायम राख्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । डिभिजन कार्यालयले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिँदै मापदण्ड विपरीत कार्य गर्ने प्रतिष्ठानमाथि आवश्यक कारबाही गरिने जनाएको छ ।