×

वीरगञ्ज । पर्सा प्रहरीले बोलेरो गाडीमा लागूऔषध गाँजा तस्करी गर्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा१९ च ५७३८ नम्बरको बोलेरो गाडीका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३० वर्षीय सुभाष थामी र सोही ठाउँका २८ वर्षीय छत्रबहादुर थामी रहेका छन् ।

मङ्गलवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको उक्त बोलेरो गाडी रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा गाडीमा त्रिपालले छोपेर राखिएको आठ वटा पोका फेला परेका थिए । पोकाभित्रबाट कुल १०९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गाँजा र गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top