×

वीरगञ्ज । सडक अनुशासनको पालनालाई प्रवर्द्धन गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा “ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम” शुभारम्भ गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा सुरु भएको उक्त कार्यक्रम असार ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा तथा जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्य रहेको छ ।

सप्ताहव्यापी अभियानअन्तर्गत सवारी चालक, विद्यार्थी, सर्वसाधारण तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, हेलमेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत सडक सुरक्षासम्बन्धी विविध विषयमा जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ ।

प्रहरीले “सेफ ड्राइभ, लङ लाइफ” भन्ने नारासहित सडक प्रयोगकर्ताहरूलाई जिम्मेवार र अनुशासित बन्न आग्रह गरेको छ । ट्राफिक नियमको कडाइका साथ पालनाबाट दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित सडक संस्कृतिको विकास गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

कार्यक्रम अवधिभर वीरगञ्जका विभिन्न स्थानमा सचेतनामूलक र्‍याली, अन्तरक्रिया कार्यक्रम, पर्चा वितरण तथा ट्राफिक शिक्षासम्बन्धी प्रशिक्षण र जनचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । आयोजकले सर्वसाधारणलाई अभियानमा सक्रिय सहभागिता जनाई सुरक्षित सडक निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

Back to top