वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वीरगञ्ज वितरण केन्द्रमा ठेक्कामार्फत सञ्चालन हुने विद्युत् पोल जडान कार्यमा गम्भीर अनियमितता भएको तथ्य सार्वजनिक भएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा मापदण्ड विपरीत पोल जडान गर्दा विद्युत् आपूर्तिमा पटक–पटक अवरोध सिर्जना भइरहेको पाइएको छ ।
प्राधिकरणको प्राविधिक मापदण्डअनुसार विद्युत् पोल कम्तीमा दुई मिटर (करिब सात फिट) गहिराइसम्म खनेर जडान गर्नुपर्ने व्यवस्था भए पनि ठेकेदारहरूले लागत घटाउने उद्देश्यले चार फिट गहिराइमा मात्र पोल गाड्ने गरेको स्थानीयवासीको गुनासो छ । यसरी जडान गरिएका पोल सामान्य हावाहुरी र वर्षामा समेत सजिलै ढल्ने गरेका छन् ।
ग्रामीण क्षेत्रमा खेतबारी तथा सडकछेउको जमिन मलिलो हुने र वर्षायाममा हिलाम्य बन्ने भएकाले पोल मजबुत रूपमा टिक्न नसक्ने समस्या अझ गम्भीर बनेको छ । यसको विपरीत सहरी क्षेत्रमा कडा जमिनका कारण कम गहिराइमा जडान गर्दा पनि समस्या कम देखिने भए पनि ग्रामीण क्षेत्रमा यस्तो लापरबाहीले ठुलो जोखिम निम्त्याइरहेको छ ।
यसै साता आएको हावाहुरी र वर्षासँगै भएका दुई घटनामा डेढ सयभन्दा बढी विद्युत् पोल ढलेका थिए । पोल ढल्दा तारहरू यत्रतत्र फैलिनुका साथै विद्युत् आपूर्तिमा अवरोध सिर्जना भई सर्वसाधारण लामो समय अन्धकारमा बस्न बाध्य भएका छन् ।
स्थानीयवासीको अनुसार ठेकेदारहरूले जानाजानी मापदण्ड उल्लङ्घन गर्दै कम गहिराइमा पोल गाड्ने गरेको कारण पछि पोल ढलेपछि मर्मत सम्भारको नाममा पुनः आर्थिक लाभ लिन सकिन्छ । एउटै कामबाट दोहोरो आम्दानी लिने प्रवृत्ति मौलाउँदै गएको आरोप पनि लाग्दै आएको छ ।
सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कारबाही गर्न नसक्दा यस्ता अनियमितता दोहोरिँदै आएको देखिन्छ । स्थानीयवासीले प्राविधिक मापदण्डको कडाइका साथ पालना गराउन र दोषी ठेकेदारमाथि कारबाही गर्न माग गरेका छन् । अन्यथा भविष्यमा अझ ठुलो क्षति निम्तिन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।