वीरगञ्ज । अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ ।
वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदा समेटिएको एक पन्ने समझदारी पत्र (एमओयू) पठाएको हो । सँगै पाकिस्तानमार्फत दुई देशको धारणा र अडानहरू पनि आदान प्रदान भइरहेको अधिकारीहरूलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकाले पठाएको मस्यौदामा उल्लिखित प्रस्तावहरूबारे इरानले अहिले समीक्षा गरिरहेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ । अमेरिकी अधिकारीहरूले इरानबाट चौबीसदेखि ४८ घण्टाभित्र प्रतिक्रिया आउने अपेक्षा गरेका छन् । ‘हामी धेरै टाढा छैनौँ, तर अझै सम्झौता भएको चाहिँ छैन,’ एक अधिकारीले एक्सियससँग भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केही दिनमै इरानसँग सम्झौता हुन सक्ने बताएका छन् । सहमति र सम्झौता हुन नसक्ने अवस्था देखिए इरानमाथि सैन्य कारबाही हुने चेतावनी पनि उनले दिएका छन् । ‘त्यस्तो अवस्था आए अघिल्लो पटककोभन्दा भयानक बमबारी हुनेछ,’ ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने ।
यसअघि ट्रम्प आफैले इरानसँग संवाद भइरहेको भनेर स्ट्रेट अफ हर्मुजमा सैन्य एस्कर्टिङ गरी फसेका जहाजहरू निकाल्ने योजना स्थगित गरेका थिए । राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जानुअघि नै युद्ध अन्त्य गरी दीर्घकालीन शान्तिका लागि इरानसँग सम्झौता गर्न चाहेको भनेर पनि एक्सियसले लेखेको छ ।
वासिङ्टनले पठाएको मस्यौदामा युद्ध अन्त्यको घोषणा गर्दै ३० दिनको विस्तृत वार्ता अवधि सुरु गर्ने प्रस्ताव छ । उक्त अवधिमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा विस्तृत सम्झौता गर्ने लक्ष्य राखिएको छ । स्रोतहरूका अनुसार ती वार्ता इस्लामवाद वा जेनेभामा हुन सक्छ ।
एक अमेरिकी अधिकारीका अनुसार ३० दिने अवधिमा इरानले हर्मुज क्षेत्रमा लगाएको जहाज आवतजावत प्रतिबन्ध र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी क्रमशः हटाइनेछ । तर वार्ता असफल भए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य कारबाही गर्न सक्ने प्रावधान पनि प्रस्तावमा राखिएको छ । एक्सियसले खुलाएको सबैभन्दा महत्त्वपूर्ण विवरण भने युरेनियम संवर्धन रोक्ने समयसीमा हो ।
स्रोतहरूका अनुसार अमेरिकाले इरानलाई कम्तीमा २० वर्ष संवर्धन रोक्न दबाब दिएको छ भने इरानले ५ वर्ष प्रस्ताव गरेको छ । अहिले १२ देखि १५ वर्षबिचको समझदारी बन्न सक्ने चर्चा भइरहेको छ । तर इरानले रोक लगाइएको समयमा युरेनियम प्रशोधन गरेको खुले अवधि थप लम्ब्याइने भनिएको छ । इरानले इमानदारिताका साथ तोकिएको समयमा युरेनियम प्रशोधनको काम रोकेको अवस्थामा पछि ३.६६ प्रतिशतसम्मको न्यून स्तरको युरेनियम संवर्द्धन गर्न गर्न दिइने प्रस्ताव छ ।
एक अमेरिकी अधिकारीका अनुसार इरानले संयुक्त राष्ट्र सङ्घका निरीक्षकबाट आकस्मिक निरीक्षण स्वीकार गर्नुपर्ने र विस्तारित अनुगमन प्रणाली लागू गर्नुपर्ने सर्त पनि प्रस्तावमा समावेश छ । यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः हटाउने तथा विश्वभर रोक्का गरिएका अर्बौँ डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाउनेछ भनेर एक्सियसले लेखेको छ । तर वासिङ्टनले विगतदेखि उठाउँदै आएको केही संवेदनशील माग भने प्रस्तावमा स्पष्ट छैन ।
इरानको मिसाइल कार्यक्रम, मध्यपूर्वका इरान समर्थित सशस्त्र समूहलाई इरानले गरिरहेको समर्थन र इरानसँग रहेको ४०० किलोभन्दा बढी उच्च प्रशोधित युरेनियम के गर्ने भन्ने बारेमा चाहिँ मस्यौदामा केही उल्लेख नभएको रोयटर्सले जनाएको छ ।
यसअघि ट्रम्पले इरानले उच्च प्रशोधित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए । इरानले त्यसलाई ठाडै अस्वीकार गर्दै बरू रूसलाई दिन सकिने बताएको थियो । इरानी विदेश मन्त्री अब्बास अराग्चीले मस्को भ्रमणसमेत गरेका थिए ।
अहिले पठाइएको प्रस्तावमा इरानको सबै पक्ष सहमत हुन सक्ने भने नदेखिएको भनेर एक्सियसले लेखेको छ । इरानको शक्तिशाली सेना इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) र राजनीतिक नेतृत्वबीच युद्धबारे मतैक्य छैन ।
इरानी संसद्को विदेश नीति तथा राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाइले उक्त प्रस्तावलाई यथार्थभन्दा बढी अमेरिकी इच्छा सूचीको संज्ञा दिएका छन् । संसद्का सभामुख मोहम्मद बाघेर गालीबाफले अमेरिकाले हर्मुज नाका खोल्न नसकेपछि प्रचारबाजी गरिरहेको आरोप लगाएका छन् ।
वार्ता सुस्त हुनुको एउटा कारण इरानले प्रत्येक सन्देश सर्वोच्च नेता मोज्तबा खामेनीसम्म पुर्याउनुपरेकाले पनि हो भनेर एक्सियसले लेखेको छ । सुरक्षा कारणले उनी अहिले गोप्य स्थानमा रहेको अमेरिकी अधिकारीहरूको दाबी छ ।