वीरगञ्ज । सखुवाप्रसौनी गाउँपालिकामा गत चैत १६ गते पाँच कक्षामा अध्ययनरत १२ वर्षीया छात्रामाथि भएको बलात्कार घटनाले नयाँ मोड लिएको छ। घटनामा आरोपित डकैला निमाविका शिक्षक रूपेश यादव ३६ दिनपछि जिल्ला प्रहरी कार्यालय पर्सामा मङ्गलवार हाजिर भएका हुन्।
प्रहरीले शिक्षक यादवलाई जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्सामार्फत अदालतमा उपस्थित गराई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिएको जनाएको छ।
घटनाका अर्का आरोपी २५ वर्षीय लड्डु यादव भने अझै फरार रहेका छन्। उनी भारतमा लुकेर बसेको आशङ्का गरिए पनि सामाजिक सञ्जाल टिकटकमा सक्रिय देखिँदा समेत पक्राउ गर्न प्रहरीले पर्याप्त चासो नदेखाएको आरोप पीडित पक्षले लगाएको छ।
पीडित बालिकाका पिताले एक साताअघि नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गर्दै घटनाका आरोपीलाई प्रहरीले जोगाउन खोजेको गम्भीर आरोप लगाएका थिए। उनले छोरीलाई विभिन्न माध्यमबाट धम्की दिइएको तथा प्रहरीले अभियुक्तविरुद्ध प्रभावकारी कदम नचालेको दाबी गरेका छन्।
पीडित पक्षले बयान फेर्ने प्रयास गरिएको, घटनासम्बन्धी रिपोर्टमा छेडछाड गरिएको तथा प्रहरीमाथि समेत पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। यद्यपि, यस विषयमा पर्सा प्रहरीले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
यसैबीच, शिक्षक रूपेश यादव अचानक प्रहरीसमक्ष उपस्थित भएपछि पीडित परिवारले उठाएका प्रश्न र आरोपप्रति थप चर्चा सुरु भएको छ। घटनामा नाबालिकालाई आरोपी लड्डु यादव र भगल यादवको घरमा राखी एकैदिन दुईपटक बलात्कार गरिएको आरोप लगाइएको छ।