×

वीरगञ्ज । वीरगञ्ज–श्रीपुरस्थित गौतम माविले पछिल्लो समय विद्यालयविरुद्ध भइरहेको भनिएको भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै सार्वजनिक वक्तव्य जारी गरेको छ ।

विद्यालयले जारी गरेको वक्तव्यमा वि.सं. २०३३ सालमा चार जना विद्यार्थीबाट सुरु भएको गौतम स्कुल आज हजारौं विद्यार्थीको भविष्य निर्माण गर्ने गौरवशाली शैक्षिक संस्थाको रूपमा स्थापित भएको उल्लेख गरिएको छ ।

वक्तव्यमा पञ्चायती व्यवस्था, माओवादी जनयुद्ध, मधेश आन्दोलन, शिक्षक आन्दोलन, आर्थिक संकट, चन्दा आतंक तथा कोरोना महामारीजस्ता कठिन परिस्थितिमा पनि विद्यालयले शिक्षा सेवा निरन्तर सञ्चालन गरेको दाबी गरिएको छ ।

विद्यालय प्रशासनले केही स्वार्थी, प्रतिशोधी तथा ईर्ष्यालु मानसिकता भएका व्यक्तिहरूले योजनाबद्ध रूपमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत मिथ्या, तथ्यहीन तथा भ्रामक सूचना फैलाएर संस्थाको प्रतिष्ठामाथि आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि विगत सत्रको बाँकी शुल्क भुक्तानी गरिदिन अभिभावकसँग अनुरोध गरिएको विषयलाई तोडमोड गरी एकपक्षीय रूपमा प्रचार गरिएकोप्रति असन्तुष्टि जनाएको छ ।

साथै, विद्यालयको प्रिन्सिपलको कार्यकक्षमै समूह बनाएर अनाधिकृत प्रवेश गरी अमर्यादित गतिविधि गरिएको भन्दै त्यसप्रति पनि आपत्ति व्यक्त गरिएको छ ।

वक्तव्यमा विद्यालयले अभिभावक तथा सरोकारवालाबाट आएका सुझाव र गुनासोलाई सुधारको अवसरका रूपमा ग्रहण गर्दै आएको उल्लेख गरिएको छ । विद्यालय प्रशासनबाट कहिलेकाहीँ प्राविधिक कमजोरी वा मानवीय त्रुटि हुन सक्ने स्वीकार गर्दै त्यस्ता विषय संवाद र समझदारीमार्फत समाधान गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ ।

विद्यालयले प्रेस स्वतन्त्रताको सम्मान गर्ने जनाउँदै पत्रकारिता आचारसंहिता, सत्यता र जिम्मेवारीको पक्षमा आफू रहेको स्पष्ट पारेको छ । अपुष्ट तथा एकपक्षीय समाचारले संस्थाको प्रतिष्ठामात्र नभई विद्यार्थी, शिक्षक तथा अभिभावकको विश्वासमा समेत असर पुग्ने विद्यालयको भनाइ छ ।

वक्तव्यमा समयमै शुल्क बुझाउने अभिभावकप्रति आभार व्यक्त गर्दै केही अभिभावकले पहुँच र दबाब प्रयोग गरी विद्यालयमाथि प्रशासनिक तथा मानसिक दबाब सिर्जना गरिरहेको उल्लेख गरिएको छ । छात्रवृत्ति वितरण प्रक्रियामा समेत अनुचित दबाब दिने प्रवृत्ति बढेको विद्यालयले जनाएको छ ।

विद्यालयले सामुदायिक तथा संस्थागत दुवै विद्यालयले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै सबै पक्षले जिम्मेवार र सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

‘यो विद्यालय केवल एउटा भवन होइन, हजारौं सपनाहरूको घर हो’ भन्दै विद्यालयले ५० वर्षको संघर्ष, त्याग र समर्पणको इतिहास बोकेको संस्थालाई सकारात्मक सहयोग र विश्वास निरन्तर कायम रहने अपेक्षा व्यक्त गरेको छ ।

Back to top