वीरगञ्ज । डुमरवाना विकास मञ्च को आयोजनामा हुन लागेको “प्रथम डुमरवाना महिला खुला भलिबल प्रतियोगिता” को सम्पूर्ण तयारी पूरा भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१५ स्थित राष्ट्रिय विभूति माध्यमिक विद्यालय को खेलमैदानमा वैशाख २६ र २७ गते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आठ वटा महिला भलिबल टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा आयोजक डुमरवाना विकास मञ्च, जनता मावि रजघट्टा, मकवानपुर हेटौंडा, जनशक्ति क्लब कोल्भी, सिमरा एकता बारा, सर्लाही भलिबल क्लब तथा राष्ट्रिय विभूति लगायतका टोली रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
डुमरवाना विकास मञ्चका नवनिर्वाचित अध्यक्ष गोविन्द चौधरी का अनुसार प्रतियोगिता “बेस्ट अफ फाइभ” प्रणालीमा सञ्चालन गरिनेछ ।
उनले यस्ता प्रतियोगिताले महिलाहरूलाई भलिबल खेलतर्फ आकर्षित गर्नुका साथै भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।