बारा । सीमावर्ती क्षेत्रका बासिन्दाको लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले मटिअर्वा छोटी भन्सार पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
सरकारले देशभर रहेका १८ वटा छोटी भन्सारको सूचीमा वीरगञ्ज भन्सार कार्यालय अन्तर्गतको मटिअर्वा छोटी भन्सारलाई पनि समावेश गरेको हो । उक्त भन्सार सञ्चालनका लागि आवश्यक प्रशासनिक प्रक्रिया तत्काल अघि बढाइने तयारी गरिएको जनाइएको छ ।
लामो समयदेखि बन्दप्रायः रहेको भन्सार पुनः सञ्चालनमा आएपछि सीमापार व्यापार सहज हुने तथा राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
यसैबीच, बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साह ले भन्सार क्षेत्रको भौतिक पूर्वाधार निर्माण तथा उचित व्यवस्थापनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजनको माग गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
सांसद साहको सचिवालयका अनुसार मटिअर्वा नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासले सीमावर्ती क्षेत्रको समग्र आर्थिक गतिविधि र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।