×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १० को आयोजनामा चौथो संस्करणको वडा स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छ । युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने तथा अनुशासन, सद्भाव र सहकार्यको भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोह प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य सुशील साह कानु को आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष सन्तोष जैसिको अध्यक्षतामा सम्पन्न भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद साहले खेलकुदले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने बताउँदै स्थानीय तहबाट यस्ता प्रतियोगिताको निरन्तर आयोजना हुनु आवश्यक रहेको धारणा व्यक्त गरे । उनले खेलकुदमार्फत समाजमा अनुशासन र भाइचाराको भावना मजबुत बन्ने उल्लेख गरे ।

कार्यक्रममा उद्योगपति अशोक बैध, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, रवि श्रीवास्तव, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, वडा सचिव पवन प्रधान लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रको अवसरमा वडा अन्तर्गतका ८ वटा विद्यालयहरूको सहभागितामा मार्चपास प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा Little Angels Secondary School प्रथम, Mount Makalu English Boarding School दोस्रो तथा श्री रामचरण पन्नालाल माध्यमिक विद्यालय तेस्रो हुन सफल भएका थिए । उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरूलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

कार्यक्रम सञ्चालन पत्रकार क्रान्ती साह ले गरेका थिए ।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहनेछ भने आगामी केही दिनसम्म प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

Back to top