बारा । बाराको परवानीपुर गाउँपालिका–३ परवानीपुर बजारमा ट्याक्टरबाट माटो खसाउने क्रममा एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा ना.५ त ३०११ नम्बरको ट्याक्टर चालक काशी महतो तत्मा रहेका छन्। बारा प्रहरीले उनका विरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ।
गत आइतबार राति स्थानीय रामबाबु रौनियारको जग्गामा ट्याक्टरबाट माटो खसाउने क्रममा माटोले पुरिएर प्लास्टिक टिपेर जीविकोपार्जन गर्दै आएका परवानीपुर गाउँपालिका–५ नौतन निवासी ३८ वर्षीय दुःखी महतो बिन को मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार गाउँपालिकाद्वारा परवानीपुर बजारमा निर्माणाधीन सेडका लागि ल्याइएको माटो मध्यरातमा रौनियारको जग्गामा खसाल्ने काम भइरहेको थियो। स्थानीयहरूले मध्यरातमा माटो खसालिनु तथा घटनापछि घाइतेलाई तत्काल अस्पताल नपुर्याइनुले घटना शंकास्पद बनेको बताएका छन्।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ का अनुसार घटनास्थल आसपासको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको हो। उनका अनुसार माटोले च्यापिएर मृत्यु भएको प्रारम्भिक देखिए पनि शव घटनास्थलभन्दा केही पर राखिएको अवस्था भेटिएकाले घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनास्थल पुगेपछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। यता, घटनामा संलग्न अन्य व्यक्तिलाई जोगाउन केही स्थानीय जनप्रतिनिधि तथा नेताहरू सक्रिय रहेको आरोपसमेत उठेको छ। स्रोतका अनुसार पीडित पक्षलाई दबाब दिँदै ट्याक्टर चालकविरुद्ध मात्रै जाहेरी दिन लगाइएको बताइएको छ।
जग्गाधनी रामबाबु रौनियारले भने घटना कसरी भयो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्। उनले गाउँपालिकाले माटो खसाल्ने काम गरेको दाबी गरेका छन्। तर स्थानीयहरूले मध्यरातमा माटो खसाल्ने कार्य र घटनापछि घाइतेलाई अस्पताल नपुर्याइएको विषयमा थप छानबिन हुनुपर्ने माग गरेका छन्।