×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल विरुद्ध सामाजिक सञ्जालमा फैलाइएको एक विवादास्पद तस्वीरलाई लिएर विवाद चर्किएको छ। भ्रामक सामग्रीमार्फत चरित्रहत्या गरिएको आरोप लगाउँदै मेयर पौडेलले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।

फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त तस्वीरमा एआई प्रविधिबाट तयार गरिएको जस्तो देखिने दृश्यमा मेयरसँग मिल्दोजुल्दो अनुहार भएको व्यक्ति कार्यालयजस्तो स्थानमा कुकुरसँग एउटै थालमा खाइरहेको देखाइएको छ। उक्त तस्वीर राष्ट्रिय स्वतन्त्र पार्टी निकट मानिने राजकुमार यादव ले शेयर गरेपछि विषयले व्यापक चर्चा पाएको हो।

मेयर पौडेलले आफूलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रामक सामग्री फैलाइएको दाबी गरेका छन्। उनले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै तस्वीरमा देखिएका व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। साथै, यदि उक्त व्यक्ति आफूलाई चिन्न सक्ने कोही भए वास्तविकता सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन्।

उनले घटनाबारे साइबर ब्यूरो, मधेस प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय सिमरालाई जानकारी गराइसकेको बताएका छन्। सामाजिक सञ्जाललाई व्यक्तिगत प्रतिशोध र चरित्रहत्या गर्ने माध्यम बनाउन नहुने उनको भनाइ छ।

यस घटनाले स्थानीय राजनीतिक वृत्तमा पनि चर्चा पाएको छ। सामाजिक सञ्जालमा केहीले प्रमाणबिना व्यक्तिको प्रतिष्ठामाथि प्रहार गर्नु गलत भएको बताएका छन् भने केहीले घटनाबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

नेपाल प्रहरी साइबर ब्यूरोले प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ। पछिल्लो समय एआई प्रविधिबाट तयार गरिएका वा पुष्टि नभएका सामग्री सामाजिक सञ्जालमा फैलिने क्रम बढ्दै गएको भन्दै यसले व्यक्तिगत तथा सार्वजनिक जीवनमा गम्भीर असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

Back to top