×

वीरगञ्ज । संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव का सवारी चालक मुस्तकिम आलम मियाँ अपहरण तथा अमानवीय व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज नगरपालिका–३ पोख्रेल टोल बस्दै आएका २७ वर्षीय मुस्तकिम आलम मियाँलाई बुधबार साँझ पक्राउ गरिएको हो । उनी मन्त्री रामजी यादव को निजी सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत रहेका थिए ।

प्रहरीका अनुसार २०८२ वैशाख २४ गते जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । मुस्तकिमलाई २०८२ चैत २७ गतेदेखि मन्त्री यादवले निजी चालकका रूपमा नियुक्त गरेका थिए ।

प्रहरीले जनाएअनुसार २०८२ फागुन १४ गते मुस्तकिमसहितका व्यक्तिहरूले हनुमानचोक क्षेत्रमा बस्ने एक हिन्दू युवालाई मोटरसाइकलमा घेरा हालेर अपहरण गरेका थिए । त्यसपछि उनलाई हिमालय राइस मिल पछाडिको सुनसान स्थानमा लगेर कुटपिट गर्नुका साथै नग्न बनाई भिडियोसमेत बनाइएको आरोप छ ।

पीडितले आफूलाई थुक चाट्न बाध्य पारिएको, लिङ्ग काटिदिने धम्की दिइएको तथा मोबाइल, सुनको सिक्री र साथमा रहेको १ लाख ३० हजार रुपैयाँ लुटिएको जाहेरीमा उल्लेख गरेका छन् ।

घटनामा मुस्तकिमसँगै जुनेद मियाँ, एकवाल मियाँ र आदित्यकुमार यादवविरुद्ध पनि अपहरण, शरीर बन्धक तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार मुस्तकिमको राजनीतिक पहुँचका कारण प्रहरीले सुरुवाती चरणमा पक्राउ पुर्जी लिन ढिलाइ गरेको आरोपसमेत लागेको छ । पीडित पक्षले माथिल्लो निकायसम्म जाने चेतावनी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।

प्रहरीले मुस्तकिमलाई अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ । घटनाबारे मन्त्री रामजी यादव ले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । स्थानीयस्तरमा भने घटनामा संलग्नमाथि कडा कारबाहीको माग भइरहेको छ ।

Back to top