×

वीरगञ्ज । ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार बिहान काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । सीआईबीका एआईजी मनोज केसी ले पक्राउको पुष्टि गर्दै स्मार्ट सेलसम्बन्धी अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

एआईजी मनोज केसी का अनुसार स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको प्रकरणमा अनुसन्धान भइरहेका बेला पाण्डेलाई पक्राउ गरिएको हो । यद्यपि उक्त घटनामा उनको भूमिका के रहेको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि पक्राउ गरिसकेको छ ।

स्मार्ट सेलले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएको थियो । तर कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि कानुनअनुसार उक्त अनुमति स्वतः रद्द भएको थियो ।

त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १८ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना तथा प्रणाली नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गएको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा आइसकेको सम्पत्तिलाई गैरकानुनी रूपमा लिलामी गरी सरकारको हकहितमा क्षति पुर्‍याउने उद्देश्यले ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

Back to top