वीरगञ्ज । हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ संसद बहिष्कार गर्दै बैठकबाट बाहिरिएका हुन् ।
संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री भए संसदमा उपस्थित हुनुपर्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रमबारे अर्थमन्त्रीले नभई प्रधानमन्त्री स्वयंले संसदमा जवाफ दिनुपर्ने धारणा राखे ।
“हाम्रो र जनताको धेरै प्रश्न छन्,” उनले भने, “प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो ।”
साम्पाङले सरकारले मनलाग्दी ढंगले संसद सञ्चालन गरिरहेको आरोपसमेत लगाए । सांसदहरूलाई “ठेलीका ठेली किताब” दिएर पढ्न लगाउने शैलीमा संसद चलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफलको समय नदिइएको तथा संसदमा प्रस्तुत हुनुपर्ने प्रधानमन्त्री नै अनुपस्थित भएको बताए ।
प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले लाई समय दिएपछि सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका थिए ।