वीरगञ्ज । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी सी चिनफिङसँगको भेटलाई 'सम्मान'को रूपमा वर्णन गरेका छन् ।
बिहीबार बिहान भएको भेटमा ट्रम्पले हाम्रो 'निकै राम्रो सम्बन्ध' छ भनेर सीलाई भनेका थिए । उनले थप्दै भने, 'तपाईँ मेरो राम्रो साथी र एक महान् नेता हो ।'
ट्रम्पले भने, 'हाम्रो राम्रो सम्बन्ध छ । जब कुनै समस्या हुन्थ्यो, हामी मिलेर समाधान गर्थ्यौँ । म तपाईँलाई फोन गर्थेँ र तपाईँ मलाई फोन गर्नुहुन्थ्यो । मानिसहरूलाई थाहा हुँदैन, तर जब कुनै समस्या हुन्थ्यो, हामीले त्यसलाई धेरै छिटो समाधान गर्यौँ ।'
सो क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नु पर्ने बताएका थिए । ट्रम्प र सीबीच द्विपक्षीय वार्ता भइरहेको छ र त्यसअघि दुवै राष्ट्रपतिले आफ्नो प्रारम्भिक सम्बोधनमा यी कुरा भनेका थिए ।
अमेरिकी राष्ट्रपतिले यस यात्रामा आफूसँगै विश्वका सर्वश्रेष्ठ व्यापारिक नेताहरू सहभागी भएको बताए । 'आज यहाँ केवल शीर्ष व्यक्तिहरू मात्र छन् जो तपाईँलाई सम्मान गर्न आएका छन्,' उनले भने ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सीकाे प्रशंसा गर्दै भने, 'तपाईँसँग हुन पाउनु सम्मानको कुरा हो र तपाईँको साथी हुनु सम्मानको कुरा हो ।' ट्रम्पले अमेरिका र चीनबिचको सम्बन्ध पहिलेभन्दा राम्रो हुने पनि बताए ।