×

वीरगञ्ज । भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले इन्धन बचत र आर्थिक मितव्ययीताकलाई लक्षित गर्दै हप्तामा दुई दिन घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने घोषणा गरेकी छन् ।

दिल्ली सरकारले सार्वजनिक कार्यालयमा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्ने निर्णय गर्दै निजी कम्पनीहरूलाई पनि त्यही मोडल अपनाउन आग्रह गरेको हो । निर्णयअनुसार अब सरकारी कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ ।

मुख्यमन्त्री गुप्ताले केन्द्र सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचतका लागि वैकल्पिक उपाय अपनाउन दिएको निर्देशनअनुसार यो कदम चालिएको बताइन् ।

उनले भनिन्, ‘सरकारले इन्धन बचतका लागि हप्तामा दुई दिन घरबाट सेवा दिने निर्णय गरेको छ। यो कार्यक्रम सरकारी र निजी दुवै क्षेत्रमा लागू गरिनेछ। यसको नियमन र अनुगमन श्रम विभागले गर्नेछ ।’

सरकारले धेरै कर्मचारी रहेका निजी कम्पनीहरूलाई पनि आफ्नो अनुकूलताअनुसार कर्मचारीलाई हप्तामा दुई दिन घरबाट काम गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

इन्धन बचत र खर्च कटौतीका लागि मन्त्री तथा विधायकहरूको अनावश्यक विदेश भ्रमण स्थगित गरिएको छ भने आगामी तीन महिनासम्म ठुला सार्वजनिक कार्यक्रम नगर्ने निर्णय पनि गरिएको छ ।

ऊर्जा संरक्षण र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि बजार तथा मलहरूमा ‘मेड इन इन्डिया’ उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।

मुख्यमन्त्री गुप्ताले विद्युतीय सवारी नीति तयार भइसकेको र छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी पनि दिइन् ।

Back to top