×

वीरगञ्ज । वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चलेको आन्तरिक विवाद बिहीबार हिंसात्मक रूपमा प्रकट भएको छ ।

क्याम्पस प्रमुख किशोरी रायमाथि दुर्व्यवहार तथा कुटाकुट भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले क्याम्पसकै शिक्षक दिलीप प्रजापति र सह–लेखापाल देवलाल ठाकुरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा क्याम्पस प्रमुख र शिक्षक प्रजापतिबिच तानातान, लछारपछार भएको दृश्य देखिन्छ । केही रिपोर्टका अनुसार क्याम्पस प्रमुखमाथि कालोमोसो पनि दलिएको थियो ।

क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी चार जनाको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो । तीमध्ये लालकिशोर प्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलीपकुमार पण्डित रहेका छन् । उक्त निर्णयको विरोधमा शिक्षक तथा कर्मचारीहरूले क्याम्पसमा तालाबन्दी गरेका थिए ।

क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि सहमति नभएपछि विवाद बढ्दै गएको थियो । सोही क्रममा बिहीबार हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ । घटनापछि क्याम्पस परिसरमा केही समय तनावपूर्ण अवस्था रहेको थियो ।

घटनाको प्रभाव स्वरूप क्याम्पस प्रशासनले शुक्रवार एक दिनका लागि सम्पूर्ण तहको पठन–पाठन स्थगित गरेको छ । प्रशासनले “विशेष कारणवश” भन्दै सूचना जारी गरेको थियो ।

शिक्षण संस्थाभित्रै शिक्षकहरूबिच हात हालाहालको घटना भएपछि स्थानीयवासीले शैक्षिक वातावरणमाथि गम्भीर प्रश्न उठाएका छन् । सामुदायिक क्याम्पसमा सीमित व्यक्तिको प्रभाव र निजी स्वार्थ हाबी भएको आरोप लाग्दै आएको छ । घटनाले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा सामाजिक विश्वसनीयतामाथि समेत आँच आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाको अनुसन्धान अघि बढाइएको बताएका छन् ।

घटनाले वीरगञ्जको एउटा प्रमुख सामुदायिक क्याम्पसमा व्याप्त आन्तरिक कलह र व्यवस्थापन समस्यालाई उजागर गरेको छ । सम्बन्धित निकायले छिटो समाधान निकाल्नुपर्ने स्थानीयको माग छ ।

Back to top