वीरगञ्ज । पर्साको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय तथा बाराको कलैयास्त्थित यातायात व्यवस्था कार्यालयमा फर्जी लाइसेन्स नियन्त्रणका लागि केही समयअघि कडाइका साथ सञ्चालन गरिएको अभियान फेरि कमजोर बनेको भन्दै सेवाग्राही तथा स्थानीय स्रोतहरूले गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार, पहिले रोकिएको भनिएको ‘सेटिङ सिस्टम’ पुनः भित्री रूपमा सक्रिय भएको छ ।
स्थानीय स्रोतहरूका अनुसार कार्यालयमा सञ्चालन हुने लिखित तथा ट्रायल परीक्षा नाम मात्रको औपचारिकतामा सीमित बनेको छ । सीमित सङ्ख्यामा पटक–पटक परीक्षा सञ्चालन गरी निश्चित व्यक्तिहरूलाई पास गराउने अभ्यास भइरहेको आरोप लगाइएको छ । एक दिन लिखित परीक्षा र अर्को दिन ट्रायल गराउने शैली अपनाएर बिचौलियामार्फत काम अगाडि बढाइने गरिएको दाबी सेवाग्राहीहरूको छ ।
यस्तै, वीरगञ्ज कार्यालयमा एक बिचौलियामार्फत केही कर्मचारीसँग मिलेमतो गरी चार वटा मोटरसाइकलको लाइसेन्स बनाउन ट्रायल प्रमुख रामसुन्दर महतो निकटका व्यक्तिहरूमार्फत प्रक्रिया अघि बढाइएको आरोपसमेत लगाइएको छ ।
यसअघि सोही कार्यालयमा ट्रायल तथा लिखित परीक्षा सञ्चालनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेपछि अनियमित आर्थिक कारोबार तत्काल रोकिएको घटना स्मरण गर्दै सेवाग्राहीहरूले अहिले भने अख्तियारको निगरानी कमजोर हुँदा पुनः अनियमितता मौलाएको बताएका छन् ।
सेवाग्राहीहरूले वीरगञ्ज कार्यालय प्रमुख कुशेश्वर साहमाथि पनि गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार कार्यालयभित्र बिचौलियाको प्रयोग गरी फर्म भर्ने, लिखित परीक्षा पास गराउने तथा ट्रायलमा असफल भएकाहरूको भिडियो सम्पादन (एडिट) गरेर पास देखाउनेजस्ता गतिविधि हुने गरेको दाबी गरिएको छ ।
उता कलैया यातायात व्यवस्था कार्यालयमा सिसिटिभी क्यामेराको पर्याप्त व्यवस्था नभएको कारण ट्र्याक्टर चालकको लाइसेन्स वितरणमा व्यापक अनियमितता भइरहेको स्थानीय स्रोतको दाबी छ । सेवाग्राहीहरूले बारा कार्यालय प्रमुख चिन्तन आचार्यमाथि पनि बिचौलियामार्फत फर्म भर्ने, लिखित परीक्षा पास गराउने तथा ट्रायलमा असफल भएकालाई पास देखाउनेजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।
स्थानीयवासीहरूले दुवै कार्यालयको ट्रायल परीक्षा प्रणालीलाई पूर्ण रूपमा लाइभ स्ट्रिमिङ तथा कडाइका साथ डिजिटल निगरानीमा लैजानुपर्ने माग गरेका छन् ।