वीरगञ्ज । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत वीरगञ्ज–रक्सौल नाकाबाट नेपाल प्रवेश गर्न खोजिरहेका एक सोमालियाली नागरिकलाई भारतीय इमिग्रेसन विभागले पक्राउ गरेको छ । अमान्य भिसा प्रयोग गरी नेपालतर्फ भाग्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने व्यक्ति मोहम्मद अहमद फराह रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी मेडिकल भिसामा भारतको हैदराबाद आएका थिए । तर भिसाको म्याद सकिएको चार महिनापछि पनि उनी भारतमै बसिरहेको खुलेको छ ।
रक्सौल इमिग्रेसन विभागका अधिकारीहरूले उनलाई रक्सौल सीमा पार गरी नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका बेला शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान थालेका थिए । सोधपुछका क्रममा उनी सोमालियाका नागरिक रहेको पुष्टि भएको थियो ।
भारतीय सुरक्षा अधिकारीहरूका अनुसार उनलाई रक्सौलस्थित मितेरी पुल नजिकबाट पक्राउ गरिएको हो ।
पक्राउपछि इमिग्रेसन विभागले उनलाई थप कानुनी कारबाहीका लागि हरैया प्रहरी थानालाई जिम्मा लगाएको छ । त्यसपछि विभिन्न सुरक्षा निकायले थप सोधपुछ गरेपछि उनलाई मोतिहारी अदालतमा पेस गर्ने तयारी गरिएको बताइएको छ ।