सांकेतिक तस्बिर ।
वीरगञ्ज । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा हाल ८ महिनासम्मको माग धान्ने पर्याप्त मौज्दात रहेको सरकारले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा नेपालमा सञ्चालित चिनी उद्योगहरूको उत्पादन, मौज्दात र आयातित परिमाणलाई आधार मान्दा झन्डै ८ महिनासम्म उपभोग गर्न सकिने चिनी स्टक रहेको उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलगायतसँग करिब ८ महिनाको माग पूरा गर्ने चिनीको मौज्दात रहेको छ ।”
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव व्यवस्थापन गर्न मन्त्रालयले आवश्यक तयारी अगाडि बढाएको छ । बजारमा कृत्रिम अभाव सिर्जना, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि रोक्न अनुगमनलाई थप कडाइ गरिने मन्त्रालयले जनाएको छ । यस्ता गतिविधि भए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकारले प्रतिबन्ध लगाएपछि मन्त्रालयले नेपाल चिनी उत्पादक सङ्घका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । छलफलमा उद्योगीहरूले बजारमा सहज र सुलभ मूल्यमा चिनी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्न आन्तरिक उत्पादन वृद्धि गर्ने रणनीति अघि बढाएको जनाएको छ । यसका लागि उन्नत उखु जातको प्रयोग, आधुनिक प्रविधि मार्फत किसानलाई सहयोग, उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना छ । उद्योगीहरूसँग उत्पादकत्व वृद्धि र स्वच्छ बजार कायम गर्न सहकार्य गरिने पनि मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आम उपभोक्तालाई अनावश्यक रूपमा चिनी सञ्चिति नगर्न र बजार आपूर्तिको विषयमा भ्रममा नपर्न आग्रह गरेको छ । बजार आपूर्ति सामान्य रहेको र मूल्य स्थिर राख्न आवश्यक कदम चालिएको मन्त्रालयको भनाइ छ ।
भारतको नीतिगत परिवर्तनप्रति ध्यानाकर्षण गर्दै मन्त्रालयले चिनीको आपूर्ति, बजार मूल्य स्थिरता र उपभोक्ता हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।