वीरगञ्ज । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले नेपालमा आयात हुने विद्युतीय सवारी साधन (इभी)हरू आधिकारिक परीक्षण, प्रमाणीकरण तथा कानुनी प्रक्रियाका आधारमा मात्रै आयात हुँदै आएको स्पष्ट पारेको छ ।
हाल चीनबाट नेपालमा आयात हुने इभीको मोटर क्षमता र कर निर्धारणलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठिरहेका प्रश्नपछि नाडाले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
नाडाका अनुसार नेपालमा आयात हुने इभीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टेस्टिङ एजेन्सीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा मात्रै आयात हुँदै आएका छन् ।
सम्बन्धित टेस्टिङ एजेन्सीहरूले प्रदान गर्ने ‘टाइप अप्रुभलु’ लगायतका प्रमाणपत्रहरू आयात प्रक्रियाका अनिवार्य आधार भएको र पिक पावर तथा परीक्षण प्रतिवेदन सम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गरिएको हुने नाडाले जनाएको छ ।
यसका अतिरिक्त, उत्पादक कम्पनीले जारी गर्ने ‘कन्फर्मिटी अफ प्रोडक्सन’ सर्टिफिकेट तथा नेपाल सरकार, यातायात व्यवस्था विभागलाई आवश्यक पर्ने कागजात नेपाली आयातकर्ताले पेस गरेपछि र त्यहाँबाट स्वीकृति पत्र प्राप्त भएपछि मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्ने व्यवस्था कार्यान्वयनमा रहेको उल्लेख छ ।
स्थापित कानुनी, प्राविधिक तथा संस्थागत प्रक्रिया पूरा गरी आयात गरिएका सवारी साधनबारे पर्याप्त तथ्य र आधिकारिक आधारबिना शङ्का उत्पन्न गर्ने, भ्रम फैलाउने वा अनर्गल प्रचार गर्ने कार्यले समग्र इभी उद्योगप्रतिको विश्वसनीयता तथा उपभोक्ता विश्वासमा नकारात्मक असर पार्न सक्ने नाडा महासचिव मिलनबाबु श्रेष्ठको भनाइ छ । ‘नेपालका इभी व्यवसायीहरूले प्रचलित कानुन कर तथा अन्सारसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार ढङ्गले व्यवसाय सञ्चालन गरिरहेका छन्,’ महासचिव श्रेष्ठले भने, ‘त्यसैले पर्याप्त प्रमाण, प्राविधिक परीक्षण तथा आधिकारिक निष्कर्षबिना व्यवसायीहरूमाथि कर छली वा अनियमितता जस्ता आरोप लगाइनु न्यायोचित मान्न सकिँदैन ।’
विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय मापदण्ड तथा बजारको आवश्यकता अनुसार फरक/फरक मोटर स्पेसिफिकेसन तथा प्राविधिक संरचनासहित उत्पादन हुने अन्तर्राष्ट्रिय अभ्यास रहिआएको जनाएको छ । नेपालमा आउने इभी गाडीहरू सिंगापुर लगायत विभिन्न देशहरूमा पनि समान स्पेसिफिकेसनमै जाने गरेको उल्लेख गर्दै एउटा कुनै वेबसाइट मोडल नाम वा बाह्य विवरणका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा पर्याप्त र विश्वसनीय मान्न नसकिने नाडाले जनाएको छ ।
नेपालमा इभीको मोटर क्षमताका आधारमा कर निर्धारणको व्यवस्था रहे पनि परीक्षण तथा प्रमाणीकरण सम्बन्धी स्पष्ट, एकीकृत तथा व्यवहारिक मापदण्ड अझै पूर्ण रूपमा संस्थागत भइसकेको अवस्था छैन । नाडाको धारणा अनुसार अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण तथा प्रमाणीकरण निकायबाट जारी प्रमाण पत्रलाई नेपालमा आधिकारिक मान्यता दिने स्पष्ट कानुनी तथा प्राविधिक कार्यविधि तत्काल विकास गरिनु आवश्यक छ ।
साथै भविष्यमा यस्ता विवाद वा अन्योल दोहोरिन नदिन नेपालमै आधुनिक परीक्षण तथा प्रमाणीकरण पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता पनि उतिकै महत्त्वपूर्ण देखिएको उल्लेख गर्दै यसका लागि नाडा सरकारलाई आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको जनाएको छ ।