×

वीरगञ्ज । वीरगञ्जको उद्योग–व्यापारिक इतिहासमा कुनै समय सफल व्यवसाय, सामाजिक प्रतिष्ठा र आर्थिक नेतृत्वको प्रतीक मानिने केडिया परिवार पछिल्ला वर्षहरूमा लगातार विवादमा तानिन थालेपछि परिवारको पुर्ख्यौली साखमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

स्वर्गीय बृजलाल केडिया र शंकरलाल केडियाले स्थापना गरेको व्यापारिक विरासतले वीरगञ्ज मात्र नभई देशकै आर्थिक क्षेत्रमा इमानदार र भरपर्दो पहिचान बनाएको मानिन्थ्यो। तर अहिले यही परिवारका केही सदस्यमाथि सार्वजनिक तथा निजी जग्गामाथि दाबी, बैंकिङ कसुर, चेक बाउन्स तथा ठगीका आरोप लागेपछि आलोचना चुलिएको छ।

केडिया परिवार पहिलोपटक ठूलो विवादमा तब तानिएको थियो, जब प्रदीप केडियाको अगुवाइमा वीरगञ्जको पुरानो बसपार्कको जग्गा आफ्नो निजी भएको दाबी गर्दै मुद्दा दायर गरिएको थियो।

२०२९ सालमै अधिकरण गरी सञ्चालनमा ल्याइएको उक्त बसपार्कको जग्गा जोगाउन वीरगञ्ज नगरपालिकाले लामो समय कानुनी लडाइँ लड्नुपरेको बताइन्छ। जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतबाट दाबी अस्वीकृत भएपछि सर्वोच्च अदालत पुगेको मुद्दा अन्ततः फिर्ता लिइएको थियो।

त्यसपछि साविक छपकैया क्षेत्रअन्तर्गत पर्ने कित्ता नम्बर ११७ र ९७ मा रहेको झण्डै डेढ बिघा सार्वजनिक जग्गा निजी नाममा दर्ता गराउने प्रयास भएको आरोप पनि सार्वजनिक भयो। पुरानो रेल्वे लाइनसँग जोडिएको उक्त करोडौँ मूल्यको जग्गाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्दै सार्वजनिक जग्गा कायम गरेको थियो।

यद्यपि, ताराचन्द केडियाले पुनः उक्त जग्गामाथि निजी दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए। अन्ततः मालपोत कार्यालय पर्साले २०८१ असोज १६ गते उक्त जग्गा सरकारी तथा सार्वजनिक नै रहने निर्णय गरेको थियो।

सार्वजनिक जग्गा विवादपछि अहिले आदर्शनगर क्षेत्रका निजी तथा व्यावसायिक प्रतिष्ठानहरू पनि विवादमा तानिएका छन्। प्रदीप केडियाले बिचौलिया सञ्जय कुमार ठाकुरमार्फत आदर्शनगर निर्माण समितिले दशकौँअघि अधिकरण गरी बिक्री वितरण गरिसकेको जग्गामा पुनः स्वामित्व दाबी गर्दै विभिन्न व्यवसायी तथा संस्थामाथि कानुनी दाबी अघि बढाएको आरोप छ।

हालै निर्माण भएको “स्काईलाइन मल” सहित होटल पुजन, नबिल बैंक, एनआइसी एसिया बैंक, एभरेष्ट बैंक र होटल कन्ट्री इन लगायत १६ भन्दा बढी व्यक्ति तथा संस्थालाई कानुनी विवादमा तानिएको बताइएको छ।

पीडित पक्षका अनुसार मालपोत कार्यालयको पुरानो स्रेस्ता खारेज हुन छुटेको प्राविधिक कमजोरीलाई आधार बनाएर दशकौँदेखि भोगचलन तथा खरिद–बिक्री भइसकेको जग्गामा पुनः दाबी गरी आर्थिक बार्गेनिङ गर्ने प्रयास भइरहेको छ। जग्गा विवादसँगै केडिया परिवारका केही सदस्यमाथि बैंकिङ कसुर र ठगीसम्बन्धी आरोपसमेत लागेका छन्।

सञ्जय कुमार केडियाले जग्गा बिक्री गर्ने भन्दै राजेन्द्र प्रसाद तेलीसँग बैना रकम लिएर पछि जग्गा नदिएको तथा रकम फिर्ताका लागि दिएको चेक बाउन्स भएको आरोपमा पर्सा जिल्ला अदालतमा बैंकिङ कसुर तथा चेक अनादर मुद्दा दर्ता भएको बताइएको छ।

उक्त मुद्दामा अभियुक्त सञ्जय कुमार केडिया हाल फरार रहेको आरोपसमेत पीडित पक्षले लगाएको छ। त्यस्तै, मयंक केडियामाथि पनि छिपहरमाई गाउँपालिकाको जग्गा बिक्री गर्ने बहानामा विरेन्द्र प्रसाद कुर्मीसँग रकम लिएर पछि जग्गा दिन अस्वीकार गरेको आरोप सार्वजनिक भएको छ।

केडिया परिवारसँग सम्बन्धित अर्को विवाद सिद्धार्थ बैंकसँग जोडिएको बताइएको छ। त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने जग्गा सरकारले जुनसुकै बेला खाली गराउन सक्ने जानकारी हुँदाहुँदै पनि बैंककै नाममा उक्त जग्गा खरिद गराइएको आरोप लागेको छ।

यसबाट व्यक्तिगत लाभ लिइएको तर बैंकका निक्षेपकर्ता र सेयरधनीको रकम जोखिममा परेको आरोप लगाइएको छ। यी सबै आरोपका बीच प्रदीप केडियाले भने आफूहरूले आफ्नो बाजेको पालामा आर्जित सम्पत्तिमाथि कानुनी दाबी मात्र गरेको बताएका छन्।

उनले भने, “हिजोसम्म हामीलाई थाहा थिएन, अहिले हाम्रो सम्पत्ति हो भन्ने थाहा पाएपछि कानुनी बाटोबाट अघि बढेका हौँ। कसैले नकारात्मक कुरा गर्दैमा हामीलाई केही फरक पर्दैन।”

वीरगञ्जका व्यवसायी तथा समाजसेवीहरूले पुर्खाले कमाएको प्रतिष्ठा र सम्पत्तिलाई गलत ढंगले प्रयोग गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार कुनै समय विश्वास र आर्थिक नेतृत्वको प्रतीक मानिने परिवार अहिले विवाद, ठगी र अविश्वासका आरोपले घेरिएको छ।

स्थानीय समाजको बुझाइमा यो केवल एउटा व्यापारिक घरानाको विवाद मात्र नभई वीरगञ्जको व्यापारिक इतिहासकै दुःखद अध्यायका रूपमा हेरिन थालेको छ।

Back to top