ताइवानले आफू एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा गर्नबाट बच्न चेतावनी दिएको केही समयपछि ताइवानले यस्तो घोषणा गरेको हो।
ताइवानको विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘ताइवान एक सार्वभौम र स्वतन्त्र लोकतान्त्रिक राष्ट्र हो र यो पिपुल्स रिपब्लिक अफ चाइना (चीन) को अधीनमा छैन।’ मन्त्रालयले अमेरिकाद्वारा हतियार आपूर्ति ताइवानको सुरक्षाप्रतिको प्रतिबद्धताको हिस्सा भएको पनि जनाएको छ।
चीनको राजकीय भ्रमण पूरा गरेर फर्किएका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुद्दामा समर्थन नगर्न आग्रह गरेका थिए। त्यसलगत्तै ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा नगर्न आह्वान गरेपछि ताइवानको यस्तो प्रतिक्रिया आएको हो।
चीनले बलपूर्वक नियन्त्रण नगरोस् भनेर ताइवान लामो समयदेखि आफ्नो सुरक्षाका लागि अमेरिकाको समर्थनमा निर्भर रहँदै आएको छ। चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दै लगातार दाबी गर्दै आएको छ।
ताइवानको यो प्रतिक्रिया त्यतिबेला आएको हो, जब ट्रम्पले एक अन्तर्वार्तामा आफूले ताइवानले औपचारिक स्वतन्त्रताको घोषणा गरोस् भन्ने नचाहेको बताएका थिए।
फक्स न्यूजको कार्यक्रममा ट्रम्पले भनेका थिए, ‘म कसैले स्वतन्त्रताको घोषणा गरोस् भन्ने चाहन्नँ। हामीलाई नौ हजार ५०० माइल टाढा गएर युद्ध लड्नुपर्ने स्थिति चाहिँदैन।’
उनले यस क्षेत्रमा तनाव कम गर्न चाहेको कुरामा जोड दिएका थिए। ट्रम्पले भने, ‘म उनीहरू शान्त रहून् भन्ने चाहन्छु। म चीन पनि शान्त रहोस् भन्ने चाहन्छु। हामी युद्ध चाहँदैनौँ।’ उनले यथास्थिति कायम रहिरहे चीनले पनि त्यसलाई स्वीकार गर्नसक्ने आफ्नो विश्वास रहेको बताए।
अमेरिकाले आधिकारिक रूपमा केवल चीन सरकारलाई मात्र मान्यता दिन्छ र ताइवानको औपचारिक स्वतन्त्रताको समर्थन गर्दैन। यद्यपि, अमेरिकाले आफू स्वतन्त्रताको पक्षमा छ वा विपक्षमा भन्ने विषयमा सधैँ स्पष्ट धारणा सार्वजनिक गरेको छैन।
अमेरिकी कानुनअन्तर्गत अमेरिका ताइवानलाई आत्मरक्षाका लागि हतियार उपलब्ध गराउन बाध्य छ। तर, कुनै संघर्ष वा युद्धको स्थितिमा अमेरिकी सेनाले प्रत्यक्ष हस्तक्षेप गर्छ कि गर्दैन भन्ने विषय अस्पष्ट नै राखिएको छ।
बेइजिङमा भएको वार्ताका क्रममा सी चिनफिङले ताइवान मुद्दालाई लिएर ट्रम्पलाई चेतावनी दिएका थिए। उनले यस संवेदनशील विषयमा चालिने कुनै पनि गलत कदमले संघर्ष निम्त्याउन सक्ने बताएका थिए।
ताइवानका राष्ट्रपति लाइ चिङ तेको धारणा अनुसार, यो टापु पहिलेदेखि नै स्वतन्त्र छ र यसका लागि कुनै औपचारिक घोषणाको आवश्यकता छैन। ताइवानको राष्ट्रपति कार्यालयले शनिबार अमेरिकाले ताइवानसम्बन्धी आफ्नो नीतिमा कुनै परिवर्तन नगरेको कुरा पटक–पटक दोहो¥याइएको पनि जनाएको छ।
कार्यालयकी प्रवक्ता करेन कुओले वक्तव्यमा भनिन्, ‘ताइवान र अमेरिकाबीचको सहयोग सधैँ व्यावहारिक रूपमा देखिएको छ।’ उनले ताइवान अमेरिकासँगको आफ्नो सम्बन्ध अझ मजबुत बनाउन प्रतिबद्ध रहेको पनि बताइन्।
बेइजिङ बैठकअघि ट्रम्पले आफूले ताइवानलाई अमेरिकी हतियार आपूर्तिको मुद्दामा सी चिनफिङसँग छलफल गर्ने बताएका थिए। यो कदम अमेरिकाको पूर्व नीतिभन्दा फरक मानिएको छ, जसअन्तर्गत यस विषयमा चीनसँग परामर्श गरिँदैनथ्यो।
हालै ताइवानको संसद्ले २५ अर्ब डलरको रक्षा बजेट स्वीकृत गरेको छ, जसको उपयोग अमेरिकी हतियार खरिदका लागि गरिनेछ।
कानुन निर्माताहरूका अनुसार, यसमा डिसेम्बरमा घोषित ११ अर्ब एक करोड डलरको हतियार प्याकेजमध्येबाट करिब ९ अर्ब डलर समावेश छ। यसबाहेक १५ अर्ब डलरभन्दा बढीको दोस्रो चरणको हतियार बिक्री पनि प्रस्तावित छ, जसलाई अमेरिकाले अहिलेसम्म स्वीकृति दिएको छैन।
वासिङ्टन फर्कने क्रममा ट्रम्पले पत्रकारहरूलाई आफूले हतियार बिक्रीको मुद्दामा चाँडै निर्णय लिने बताएका थिए। यस विषयमा ताइवानको विदेश मन्त्रालयले हतियार केवल अमेरिकाको सुरक्षा प्रतिबद्धता मात्र नभई क्षेत्रीय खतराविरुद्धको साझा निवारक उपाय पनि भएको जनाएको छ।