×

तस्बिर : क्रिकेट एसोसिएसन अफ नेपाल ।

वीरगञ्ज । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सोमबार आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डबिच त्रिकोणात्मक सिरिजको दोस्रो खेल हुन लागेको छ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

जारी सिरिजमा स्कटल्यान्डले लगातार दुई जित हात पारिसकेको छ । पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस–स्टर्न (डीएलएस) नियमअनुसार मात्र २ रनले पराजित गरेको स्कटल्यान्डले दोस्रो खेलमा अमेरिकालाई पनि सोही नियमअनुसार २ रनले नै हराएको थियो । गत शनिवार नेपालले भने अमेरिकालाई ९ विकेटले पराजित गर्दै सानदार पुनरागमन गरेको थियो ।

लिग–२ को अङ्क तालिकामा नेपाल २६ खेलमा ९ जित, १५ हार र २ अनिर्णीतसहित २० अङ्कका साथ सातौँ स्थानमा छ । शीर्ष ६ मा रहन सके एक दिवसीय मान्यता जोगाउने नेपालको लक्ष्य छ भने ग्लोबल क्वालिफायरमा छनोट हुन बाँकी सबै १० खेल जित्नुपर्ने चुनौती छ ।

स्कटल्यान्ड भने ३० खेलबाट १६ जित, ८ हार र ६ अनिर्णीतसहित ३८ अङ्क जोडेर शीर्ष स्थानमा छ । आजको खेल जिते नेपाल २२ अङ्कसहित छैटौँ स्थानमा उक्लन सक्नेछ ।

शनिवार अमेरिकाविरुद्धको जितले नेपाली टोलीमा नयाँ आत्मविश्वास भरेको छ । विशेष गरी टप अर्डर ब्याट्सम्यानहरूको राम्रो प्रदर्शनले टोली व्यवस्थापनलाई राहत दिएको छ । कुशल भुर्तेलले शतकीय पारी खेलेका थिए भने आशिफ शेखले अर्ध शतक बनाएका थिए। इशान पाण्डे पनि सन्तोषजनक रहे ।

मुख्य प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्धको प्लेइङ–११ लाई नै निरन्तरता दिन सक्ने सम्भना छ । सोमपाल कामीको स्थानमा करण केसीलाई मौका दिने विकल्प पनि रहेको छ ।

स्कटल्यान्ड निकै उत्कृष्ट लयमा छ । घरेलु मैदानमा नेपाललाई हराएर लगातार तेस्रो जित हात पार्ने उसको लक्ष्य छ । नेपाल र स्कटल्यान्डबिच हालसम्म भएका १० एक दिवसीय खेलमा दुवै टोलीले ५–५ जित हात पारेका छन् । पछिल्ला दुई भेटमा भने स्कटल्यान्डले २–२ रनको झिनो अन्तरले जित हात पारेको थियो ।

घरेलु मैदानमा पछिल्ला ६ खेलमध्ये ४ जित हात पारेको नेपालले बाँकी दुई खेल जितेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्य राखेको छ । आज स्कटल्यान्डलाई रोक्न सके नेपालले हारको बदला लिनुका साथै अङ्क तालिका सुधार्ने मौका पाउनेछ ।

नेपाली टोलीले आजको खेल जितेर सिरिजमा सन्तुलन कायम गर्न तथा विश्वकप यात्रालाई जीवित राख्न चाहन्छ ।

Back to top