वीरगञ्ज । नेपाल–भारत सीमा क्षेत्रमा चोरीका मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी नेपालमा बिक्री गर्ने गिरोहलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
भारतको विहार राज्यस्थित आदापुर थानाकी थानाध्यक्ष पूजा कुमारीको नेतृत्वमा प्राप्त गोप्य सूचनाका आधारमा भारत–नेपाल सीमाअन्तर्गत मटिअरवा बोर्डर नजिक सवारी जाँचका क्रममा दुई वटा सुपर स्प्लेन्डर मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको हो ।
जाँचका क्रममा बीआर ०५ आर ३४७९ र बीआर ०५ आर ५१११ नम्बरका मोटरसाइकलको एचएचडी मेसिनबाट परीक्षण गर्दा दर्ता नम्बर र चेचिस नम्बरमा फरक भेटिएको प्रहरीले जनाएको छ । त्यसपछि मोटरसाइकल चालकहरू रञ्जन कुमार साह तेली र आनन्द कुमार साह तेली लाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।
उनीहरूले उक्त मोटरसाइकल हृदयेश कुमार जयसवालसँग १४ हजार नेपाली रुपैयाँमा खरिद गरेको बयान दिएका थिए । त्यसपछि प्रहरीले छापा मारेर हृदयेशलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार हृदयेशले मोटरसाइकल अजय कुमार उर्फ हरिओम कुमारबाट बिक्रीका लागि ल्याइएको स्वीकार गरेका थिए । त्यसपछि अजय उर्फ हरिओमलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा अजयले मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गर्ने, नक्कली कागजात तयार गर्ने तथा चेचिस नम्बरमा छेडछाड गरेर नेपालमा बिक्री गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको आदापुर थाना ले जनाएको छ ।