वीरगञ्ज । गर्मी मौसमको सुरुवातसँगै बजारमा अण्डाको उत्पादनमा भारी गिरावट आएपछि यसको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घ ले बजारको माग र न्यून आपूर्तिलाई मध्यनजर गर्दै अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ ।
सङ्घले तोकेको नयाँ दररेट अनुसार ठूलो अण्डामा प्रतिक्रेट (३० वटा) ३० रुपैयाँ तथा मझौला अण्डामा प्रतिक्रेट ५० रुपैयाँ मूल्य वृद्धि गरिएको हो । अब ठूलो अण्डाको फार्म मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ । यसअघि यसको मूल्य ४८५ रुपैयाँ थियो । त्यस्तै, मझौला अण्डाको मूल्य ४३५ रुपैयाँबाट बढेर ४८५ रुपैयाँ पुगेको छ ।
सङ्घका सचिव मदन पोखरेल का अनुसार फार्मदरमा भएको मूल्य वृद्धिसँगै अब बजारमा उपभोक्ताले एउटा अण्डाका लागि २५ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आउनेछ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घ का अध्यक्ष विनोद पोखरेल ले बजारमा मूल्य वृद्धि हुनुका पछाडि विभिन्न कारण रहेको बताए । उनका अनुसार पछिल्लो समय हप्तामा दुई दिन सार्वजनिक बिदा हुने व्यवस्थाका कारण आन्तरिक पर्यटकको चहलपहल बढेको छ, जसले होटल तथा रेस्टुरेन्टहरूमा अण्डाको खपत उल्लेख्य रूपमा बढाएको छ ।
तर माग बढे पनि उत्पादन भने सोही अनुपातमा बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ । “बढ्दो गर्मीका कारण कुखुराले कम अण्डा दिने गर्छन् । त्यसमाथि पछिल्लो समय कुखुरामा विभिन्न संक्रामक रोग फैलिएकाले ठूलो सङ्ख्यामा कुखुरा मरेका छन्, जसले उत्पादनमा ठूलो असर परेको छ,” अध्यक्ष पोखरेलले बताए ।
मूल्य वृद्धि हुँदा उपभोक्ताको भान्सा महँगो बन्दै गए पनि वास्तविक किसानहरूले भने अझै उचित नाफा पाउन नसकेको व्यवसायीहरूको दाबी छ । सङ्घका अनुसार हाल एउटा अण्डा उत्पादन गर्न दाना, औषधि र श्रम खर्चसहित प्रतिगोटा १९ रुपैयाँ १२ पैसा लागत पर्ने गरेको छ ।
तर बिचौलियाको चलखेल र बजारको अस्थिरताका कारण किसानहरूले लागतसमेत उठाउन नसक्दा यो व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएको बताइएको छ । जनशक्तिको अभाव र निरन्तर घाटाका कारण धेरै कृषि फार्म बन्द हुने अवस्थामा पुगेका छन् ।
देशभरका व्यावसायिक कृषि फार्महरूले दैनिक रूपमा निर्धारण गर्ने अण्डाको मूल्यलाई वैज्ञानिक रूपमा समायोजन गरेर राष्ट्रिय समर्थन मूल्य तय गरिएको सङ्घले जनाएको छ । सङ्घले यस कदमले बजारलाई केही हदसम्म व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।