×

वीरगञ्ज । नेपाल विश्व हिन्दु महासङ्घले आफ्ना वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषादलाई पर्सा प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले निषादसहित पक्राउ परेकाहरूलाई अविलम्ब बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका केन्द्रीय महासचिव डा. अभिषेक तिवारी द्वारा जारी प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मुलुकमा आफ्नो विचार, धर्म, संस्कृति तथा आस्थाको पक्षमा आवाज उठाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा हिन्दु धर्म र धार्मिक पहिचानको पक्षमा आवाज उठाउँदै आएको कारण कुनै राजनीतिक वा सामाजिक व्यक्तिलाई गिरफ्तार गर्नु अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरिएको छ ।

महासङ्घले नेपालका बहुसङ्ख्यक नागरिकले वैदिक सनातन हिन्दु धर्म तथा संस्कृतिलाई आत्मसात् गरेको उल्लेख गर्दै राज्यले नागरिकको मौलिक हकमाथि कुण्ठा उत्पन्न गर्ने उद्देश्यले निषादलाई पक्राउ गरिएको आरोप लगाएको छ । विज्ञप्तिमा निषादको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध प्रेरित तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत कदम” को संज्ञा दिइएको छ ।

यस्ता गतिविधिले राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदै जाने महासङ्घको भनाइ छ । साथै महासङ्घले सरकार तथा सम्बन्धित निकायलाई नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न तथा राजनीतिक आस्थाका आधारमा दमन नगर्न आग्रह गरेको छ ।

Back to top