वीरगञ्ज । पर्सा जिल्लास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ ८ गतेदेखि वीरगञ्जस्थित नारायणी रंगशाला मा आयोजना हुने भएको छ । पर्सा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुने जनाएको छ ।
सोमबार बसेको पर्सा जिल्ला खेलकुद विकास समितिको बैठकले प्रतियोगिता सञ्चालनसम्बन्धी विभिन्न निर्णय गर्दै जिल्लाका १४ वटै स्थानीय तहअन्तर्गतका विद्यालयहरूको सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायत विभिन्न खेल समावेश गरिएका छन् । जिल्लाभरका विद्यालयका छात्र–छात्राहरूबीच हुने प्रतिस्पर्धाले खेल प्रतिभा पहिचान तथा खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा बसेको बैठकमा प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन सुरक्षा, व्यवस्थापन तथा प्राविधिक पक्षबारे विस्तृत छलफल गरिएको थियो ।
बैठकमा कार्यालय प्रमुख महमद नाजिर हुसेन, प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, नेपाली सेनाको श्री जंग गण वीरगञ्जका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की, नेपाल खेलकुद पत्रकार मञ्च पर्सा का अध्यक्ष तिवारी यादव तथा एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेल लगायतको सहभागिता रहेको थियो ।
समितिका पदाधिकारीहरूले प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको विकास, युवामा अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि छनोट हुने सम्भावना रहेको बताइएको छ ।