वीरगञ्ज । राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको प्लेअफ दौडलाई थप रोमाञ्चक बनाएको छ । मङ्गलवार जयपुरमा सम्पन्न उच्च स्कोरिङ खेलमा राजस्थानले २२१ रनको विशाल लक्ष्य १९.१ ओभरमै पूरा गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।
जितसँगै राजस्थान १४ अंकसहित शीर्ष चारमा उक्लिएको छ भने लखनउ भने यसअघि नै प्लेअफ समीकरणबाट बाहिरिसकेको छ । राजस्थान शीर्ष ४ मा प्रवेश गरेसँगै पहिलो पटक यस सिजन पन्जाब किङ्गस शीर्ष चारबाट बाहिरिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२० रनको विशाल योगफल तयार पारेको थियो । लखनउका लागि ओपनर मिसेल मार्शले शानदार ब्याटिङ गर्दै ५७ बलमा ११ चौका र ५ छक्काको मद्दतमा ९६ रन बनाए । उनले अर्का ओपनर जस इंगलिस सँग पहिलो विकेटका लागि १०९ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाए ।
त्यसपछि ऋषव पन्तले ३५ रन तथा निकोलस पूरन ले १६ रनको योगदान दिए । राजस्थानका लागि याधुविर सिंह चरकले २ विकेट लिए भने जोफ्रा आर्चरले १ विकेट हात पारे ।
२२१ रनको कठिन लक्ष्य पछ्याएको राजस्थानले आक्रामक सुरुआत गर्यो । कप्तान यास्वश्वी जयसवाल र युवा ब्याटर वैभव सूर्यवंशी ले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरे । जयसवालले ४३ रन बनाए भने सूर्यवंशीले विस्फोटक इनिङ्स खेल्दै ३८ बलमा ७ चौका र १० छक्कासहित ९३ रन प्रहार गरे ।
सूर्यवंशीले धुर्व जुरेल सँग दोस्रो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गर्दै राजस्थानलाई जिततर्फ डोर्याए । जुरेलले ३८ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५३ रन बनाए । डोनावन फरेरिया १६ रनमा अविजित रहे। लखनउका लागि आकाश सिंह र मोशीन खान ले समान १–१ विकेट लिए ।
अब प्लेअफका लागि एक स्थान मात्र बाँकी रहेको छ । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी),गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद भने एक खेलअगावै प्लेअफमा पुगिसकेका छन्। बाँकी एक स्थानका लागि राजस्थानसँगै राजस्थान रोयल्स, पन्जाब किंग्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा जारी छ ।
बुधवार हुने खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । मुम्बई प्लेअफ दौडबाट बाहिरिसकेको भए पनि कोलकाताको सम्भावना अझै जीवित रहेको छ ।