वीरगञ्ज । पछिल्ला केही सिजन उपाधिको नजिक पुगेर पनि अन्तिम समयमा चुक्दै आएको आर्सनलले अन्ततः २२ वर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ ।
मङ्गलवार राति भएको खेलमा निकटतम प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले बोर्नेमाउथसँग १-१ गोलको बराबरी खेलेपछि आर्सनललाई च्याम्पियन बन्ने बाटो खुलेको हो । उपाधि होड जीवितै राख्न सिटीलाई उक्त खेल जित्नुपर्ने दबाब थियो ।
दक्षिणी तटमा सिटीको खेल बराबरीमा सकिने बित्तिकै उत्तर लन्डनमा खुसीको लहर छाएको थियो । इमिरेट्स स्टेडियम बाहिर र आसपासका पबहरूमा आर्सनलका हजारौँ समर्थकहरू जम्मा भएर भव्य उत्सव मनाएका छन् । पछिल्ला वर्षहरूमा खराब लयका कारण अन्तिम समयमा उपाधि गुमाउँदा निराश बनेका समर्थकहरूका लागि यो रात निकै विशेष बन्यो । धेरै समर्थकले त ‘यस्तो दिन कहिल्यै आउँदैन कि’ भन्ने महसुस गर्न थालिसकेका थिए ।
खुसीयाली सडक र पबमा मात्र सीमित रहेन । आर्सनलको प्रशिक्षण केन्द्रमा खेल हेर्न जम्मा भएका खेलाडी र प्रशिक्षक समूहले पनि उपाधिको भव्य सेलिब्रेसन गरेका छन् । सिटीको खेल सकिएको अन्तिम ह्विसल बज्नेबित्तिकै खेलाडी र स्टाफहरू नाच्दै, एकअर्कालाई अँगालो हाल्दै ‘क्याम्पियोनेस, क्याम्पियोनेस, ओले ओले ओले !’ गाउँदै खुसी साटेका थिए ।
गत महिना म्यानचेस्टर सिटीसँग पराजित भएपछि आर्सनलका कप्तान डिक्लेन राइसले ‘अहिले केही सकिएको छैन’ भन्दै टोलीको मनोबल बढाएका थिए । मङ्गलवार राति उपाधि पक्का भएपछि भने उनले सामाजिक सञ्जालमा उत्सव मनाइरहेका खेलाडीहरूको तस्बिर राख्दै लेखेका छन्, ‘अब काम सकियो ।’
ऐतिहासिक सफलता मुख्य प्रशिक्षक मिकाइल अर्टेटाको नेतृत्वमा सम्भव भएको हो । अर्टेटाले प्रशिक्षकको रूपमा क्लब सम्हालेको सातौँ वर्षमा आर्सनलले यो उपलब्धि हासिल गरेको हो । यस जितले फुटबलमा एउटा प्रशिक्षकलाई पर्याप्त समय र विश्वास दिँदा क्लबले कस्तो नतिजा ल्याउन सक्छ भन्ने स्पष्ट उदाहरणसमेत प्रस्तुत गरेको छ ।
आर्सनल समर्थकहरूका लागि २२ वर्षको यो पर्खाइ कति लामो र उकुसमुकुसपूर्ण थियो भन्ने कुरा एक समर्थकको भनाइले प्रस्ट पार्छ । उत्सव मनाउने क्रममा ती समर्थकले भने, ‘आर्सनलले पछिल्लो पटक लिग जितेदेखि यता मैले बिहे गरेँ, मेरो बच्चा जन्मियो जो अहिले किशोर भइसकेको छ, अनि मेरो डिभोर्स पनि भयो । तर बल्ल आज आर्सनलले फेरि उपाधि जितेको छ ।’
यस उपाधिसँगै आर्सनलले प्रिमियर लिगमा आफ्नो नयाँ युगको सुरुवात गरेको छ ।