एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुलनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधवार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो ।
यस पटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव पारेकाले विगत ३ वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/८१ मा भने मधेसमा ३.१८ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा दुई दशमलव ७२ प्रतिशत आर्थिक वृद्धि रहेको थियो । लगातार दुई वर्षयता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेका कारणले आर्थिक वृद्धि दर खस्कँदै गएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।