वीरगञ्ज । युवाहरूमा खेलकुदको विकास र आपसी एकता कायम गर्ने उद्देश्यका साथ वीरगञ्जमा ‘कुम्हालटोल प्रिमियर लिग (केपीएल) – सिजन १’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
कुम्हालटोल प्रिमियर लिग (केपीएल) व्यवस्थापन समिति, वडा नम्बर ५ को आयोजनामा हुन लागेको यस प्रतियोगिताको उद्घाटन समारोह आगामी जेठ ९ गते हुने तय भएको छ । आयोजकका अनुसार उद्घाटन कार्यक्रम वीरगञ्जस्थित आदर्शनगर खेल मैदानमा बिहान ठिक ९ बजेदेखि सुरु हुनेछ ।
“युवा शक्ति, खेलकुद र एकताको अभियान” भन्ने मूल नाराका साथ सुरु हुन लागेको यस पहिलो संस्करणको क्रिकेट लिगले स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई उजागर गर्न र युवाहरूलाई खेलकुदमा लाग्न प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै, आयोजक समितिले उद्घाटन समारोहमा उपस्थित भई खेलाडीहरूको मनोबल बढाउन र उत्साहवर्धन गरिदिन सम्पूर्ण खेल प्रेमी महानुभाव, स्थानीय बासिन्दा, तथा सरोकारवालाहरूमा हार्दिक अपिल गरेको छ ।
प्रतियोगिताले वीरगञ्जको खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।