वीरगञ्ज । वीरगञ्जको चिनीमिलस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षाकोठाभित्र सिलिङ पङ्खा चुँडिएर खस्दा दुई जना विद्यार्थी घाइते भएका छन् ।
बिहीबार बिहान करिब कक्षा ७ मा पढाइ भइरहेको समयमा चलिरहेको सिलिङ पङ्खा अकस्मात् चुँडिएर विद्यार्थीमाथि खसेको हो । घटनामा कक्षा ७ मा अध्ययनरत १३ वर्षीय अमन कुमार पण्डित र १३ वर्षीय आर्यन पटेल घाइते भएका छन् ।
विद्यार्थीहरूका अनुसार पङ्खाको तीन वटा पाता छुट्टाछुट्टै दिशामा उछिट्टिएर विद्यार्थीलाई लागेको थियो भने पङ्खाको कोयल रहेको भाग विद्यार्थीहरू बसेको डेस्कमाथि खसेको थियो । घाइतेमध्ये अमनको दायाँ आँखामा चोट लागेको बताइएको छ ।
दुवै घाइते विद्यार्थीको नारायणी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ । विद्यालय प्रशासनले घटना लगत्तै घाइते विद्यार्थीलाई उद्धार गरी अस्पताल पुर्याएको जनाएको छ ।
घटनापछि वीरगञ्ज महानगरपालिकाले सत्यतथ्य छानबिनका लागि दुई सदस्यीय समिति गठन गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार ४८ घण्टाभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको हो ।
समितिमा अधिकृत छैटौँ राजेश गिरी र अधिकृत छैटौँ शम्भु प्रसाद सदस्य रहेका छन् । शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा घटनाको अध्ययन, अनुसन्धान तथा सुझावसहित प्रतिवेदन पेस गरिने उल्लेख गरिएको छ ।
सबै विद्यालयलाई उपकरण परीक्षण गर्न निर्देशन
सिद्धार्थ माविको घटना लगत्तै गम्भीर बनेको महाशाखाले विद्यालयहरूमा पुराना र जीर्ण विद्युतीय उपकरणका कारण समय-समयमा दुर्घटना हुने गरेको भन्दै पूर्व सावधानी अपनाउन अर्को जरुरी सूचना जारी गरेको छ ।
महाशाखा प्रमुख लामिछानेद्वारा जारी सूचनामा विद्यार्थी र शिक्षकको सुरक्षार्थ महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई आफ्नो विद्यालयको प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको छ । सूचनामा विद्यालयमा सञ्चालनमा रहेका पङ्खा, मोटर, वायरिङ, स्विच, बल्ब तथा विज्ञान प्रयोगशालाका प्राविधिक उपकरणहरू चुस्त र सुरक्षित अवस्थामा भए/नभएको समयमै अनिवार्य रूपमा जाँच गर्न भनिएको छ ।
विद्यालयहरूको प्राविधिक जाँचका लागि आवश्यक समन्वय र सहयोग गर्न महानगरपालिकाको विद्युत् शाखालाई निर्देशन दिइएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले विद्यार्थीको सुरक्षामा कुनै पनि सम्झौता नहुने भन्दै समयमै उपकरणहरूको मर्मत सम्भार र परीक्षण गर्न सबै विद्यालय व्यवस्थापनलाई सचेत गराएको छ ।