साउथ सिनेमाका अभिनेता जुनियर एनटीआरले बुधबार आफ्नो ४३ औँ जन्मदिन मनाएका छन्। यस अवसरमा उनको आगामी चलचित्र ‘ड्र्यागन’ को पहिलो ग्लीम्पस सार्वजनिक गरिएको छ।
चलचित्रमा एनटीआर एक खतरनाक हत्यारा (असासिन) को भूमिकामा देखिएका छन्। जन्मदिनको अवसरमा हैदराबादस्थित अभिनेताको घरबाहिर बिहानैदेखि हजारौँ प्रशंसकहरूको भीड जम्मा भएको थियो। एनटीआरले घरबाहिर आएर प्रशंसकहरूको अभिवादन स्वीकार गरेका थिए।
सार्वजनिक भएको भिडियो अनुसार चलचित्रको कथा विश्वव्यापी अफीम युद्ध को वरिपरि घुमेको छ। टिजरको सुरुवात ब्याकग्राउन्ड भ्वाइस ओभरबाट हुन्छ, जसमा ब्रिटिशहरू मूल रूपमा भारतमा अफीम खेतीका लागि आएका थिए भनी बताइएको छ, जसबाट हेरोइन बन्दछ।
अङ्ग्रेजहरूले भारतमा बसेर प्रतिबन्धित ड्रग्सको सबैभन्दा बढी खेती हुने दुई मुख्य ठाउँहरूमा नियन्त्रण जमाएका थिए। यसमा अफगानिस्तान र थाइल्यान्ड, लाओस तथा बर्माको क्षेत्र पर्दछ। अङ्ग्रेजहरू गएपछि ‘अफगान ट्रेडिङ कम्पनी’ र ‘गोल्डेन ट्रयाङ्गल’ गरी दुई मुख्य समूहबिच अफीमको व्यापारमा कब्जा जमाउनका लागि युद्ध सुरु हुन्छ।
यस चलचित्रमा जुनियर एनटीआर ‘अफगान ट्रेडिङ कम्पनी’ को सबैभन्दा ठुलो हत्यारा ‘लुगर’ को भूमिकामा छन्, जसलाई ‘ड्र्यागन’ पनि भनिन्छ।
चलचित्रमा बलिउडका वरिष्ठ अभिनेता अनिल कपुर पनि मुख्य भूमिकामा छन्। उनले चलचित्रमा नार्कोटिक्स ब्युरोका प्रमुख रघुवीर राठौडको भूमिका निर्वाह गरेका छन्। त्यस्तै बीजु मेनन अफगानिस्तान लजिस्टिकका प्रमुख जलिल रहमानको भूमिकामा देखिनेछन्। यी बाहेक चलचित्रमा रुक्मिणी वसन्त, आशुतोष राणा, खुशबू सुन्दर, राजीव कनकाला र सिद्धान्त गुप्ता जस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।
यो चलचित्र पहिले यसै वर्ष जुन २५ मा रिलिज हुने तय भएको थियो, तर निर्माण पक्षले अब यसको रिलिज मिति अगाडि सारेको छ। अब यो चलचित्र अर्को वर्ष ११ जुन २०२७ मा सिनेमाघरहरूमा रिलिज हुनेछ।