×

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर गम्भीर राजनीतिक आशङ्का व्यक्त गरेका छन् । उनले उक्त भ्रमण मधेसी नेतृत्वलाई कमजोर बनाउने वा ‘सफाया गर्ने’ रणनीतिको हिस्सा नबनोस् भन्दै सचेत गराएका छन् ।

सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटघाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष राउतले नेपालमा पहिलो पटक एक मधेसी नेता प्रधानमन्त्री बनेको सन्दर्भ उल्लेख गरेका छन् । उनले ऐतिहासिक रूपमा मधेसी नेतृत्वलाई स्थापित हुन नदिइएको दाबी गर्दै अहिले पनि विकल्प खडा गरेर राजनीतिक रूपमा हैसियत घटाउने प्रयास हुन सक्ने आशङ्का व्यक्त गरेका हुन् ।

“रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस्,” राउतले लेखेका छन्, “चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेसी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ । तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेसीलाई झैँ उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदै छ ।”

उनले वर्तमान राजनीतिक परिदृश्यलाई जोड्दै मधेसी प्रधानमन्त्री पनि राजनीतिक निशानामा पर्न सक्ने बताएका छन् । बालेन्द्र शाहको नाम प्रत्यक्ष उल्लेख नगरे पनि राउतले ‘मधेसी प्रधानमन्त्री’माथि दबाब सिर्जना गर्ने खेल भइरहेको सङ्केत गरेका छन् ।

राउतले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै मधेसी नेताहरूलाई विभिन्न माध्यमबाट कमजोर बनाउने प्रयास हुँदै आएको आरोप लगाएका छन् । उनका अनुसार तराई काँग्रेसदेखि जसपा र जनमत पार्टीसम्म आइपुग्दा पार्टी विभाजन, बदनाम, देशद्रोहीको आरोप, पक्राउ तथा अन्य राजनीतिक गतिविधिमार्फत मधेसी नेतृत्वलाई पाखा लगाइँदै आएको छ ।

“आजसम्म नेपालमा कुनै पनि मधेसी नेतालाई स्थापित हुन दिइएन,” उनले भनेका छन्, “चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेसी नेतालाई स्थापित हुन दिइएन ।”

राउतले लामिछानेको भारत भ्रमणको भित्री उद्देश्य प्रधानमन्त्रीलाई पदबाट हटाउने खेलसँग जोडिएको हुन सक्ने दाबी समेत गरेका छन् । यस विषयमा रास्वपा वा सभापति लामिछानेको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

Back to top