बीरगञ्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन वर्तमान सरकारसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि सामाजिक सञ्जाल ट्विटर (एक्स) मार्फत प्रधानमन्त्री मोदीले उक्त धारणा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री मोदीले लेखेका छन्, “हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।”
उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गर्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रूपमा सहमत रहेको पनि बताएका छन्।
मोदीको उक्त अभिव्यक्तिले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने दिशामा सकारात्मक संकेत दिएको कूटनीतिक वृत्तमा मूल्यांकन गरिएको छ।