वीरगञ्ज । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेस प्रदेशको बर्दिबासमा सञ्चालित प्रदेश तथा स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय परामर्श कार्यशालाले ‘३३ बुँदे मधेस सङ्कल्प’ जारी गर्दै सम्पन्न भएको छ।
‘ऊर्जा र विश्वासको नवीन अभियान’ भन्ने मूल नाराका साथ जेठ ६ र ७ गते आयोजित उक्त दुई दिने कार्यशालामा पार्टीको सङ्गठन सुदृढीकरण र जनमुखी सरकार सञ्चालनका विषयमा विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, सह-महामन्त्रीहरू फरमुल्लाह मन्सुर र मुक्ताकुमारी यादव लगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । नेताहरूले पार्टी सङ्गठनलाई बलियो बनाउन र सरकारलाई जनमुखी बनाउन विशेष निर्देशन दिएका थिए ।
६ विषयगत समूहमा गहन छलफल
कार्यशालामा मधेसको स्थानीय मौलिक पहिचान र विशिष्टताका आधारमा सहभागीहरूलाई ६ वटा छुट्टाछुट्टै समूहमा विभाजन गरी नीतिगत र व्यावहारिक विषयमा गहन छलफल गराइएको थियो ।
जसअन्तर्गत ‘जानकी समूह’मा प्रदेश सरकारको आन्तरिक व्यवस्थापन, सुशासन र बजेट, 'सिम्रौनगढ-पर्सागढी समूह'मा समसामयिक राजनीतिक प्रश्नहरूमा स्थानीय दृष्टिकोण र ‘गढीमाई-छिनमस्ता समूह’मा आर्थिक विकास, आन्तरिक व्यवस्थापन र सुशासनका विषयमा छलफल भएको थियो ।
त्यसैगरी, ‘सलहेश-सुनाखरी समूह’मा सामाजिक विकास, सुशासन र बजेट, ‘बागमती-कोशी समूह’मा पूर्वाधार विकास र सेवा प्रवाहमा प्रभावकारिता तथा ‘जलेश्वरनाथ-पँचधुरा समूह’मा पार्टी र स्थानीय सरकारबिचको समन्वय र सहजीकरणको विषयमा मन्थन गरिएको थियो ।
कार्यशालामा मधेस प्रदेशका मुख्यमन्त्री एवं काँग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, ८ वटै जिल्लाका समन्वय प्रमुख/उपप्रमुख, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षहरूको सहभागिता रहेको थियो । यसका साथै मधेस प्रदेशका केन्द्रीय सदस्यहरू, जिल्ला तथा क्षेत्रीय सभापतिहरू र स्थानीय तहका सभापतिहरू समेत उपस्थित थिए ।
कार्यक्रमका विभिन्न सत्रहरूलाई उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा, उपप्रमुख मधु आचार्य, केन्द्रीय सदस्य अञ्जु झा, प्रमोदहरी गुरागाईँ, नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे लगायत प्रतिष्ठानका सदस्यहरू प्रकाश लामिछाने, महेन्द्र यादव र कञ्चन झाले सहजीकरण गरेका थिए ।
कार्यशालाको समापनसँगै जारी गरिएको ३३ बुँदे ‘मधेस सङ्कल्प’ले आगामी दिनमा मधेसमा सुशासन, प्रभावकारी सेवा प्रवाह र काँग्रेस नेतृत्वका सरकारहरूलाई थप नागरिकमैत्री र परिणाममुखी बनाउन कोसेढुङ्गाको काम गर्ने विश्वास आयोजकले लिएको छ ।