वीरगञ्ज । मधेस क्रिकेट लिगको दोस्रो संस्करणको उपाधि बाराले लगातार दोस्रो पटक जितेको छ । वीरगञ्जस्थित टिबी साह क्रिकेट रङ्गशालामा शुक्रवार सम्पन्न फाइनल खेलमा बाराले धनुषालाई १२८ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको बाराले २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । बाराका लागि सुशान्त सिंहले ५१ रन तथा अरनिको यादवले ५० रनको अर्धशतकीय योगदान दिएका थिए । धनुषाका रुपेश यादव र आयुष यादवले समान २/२ विकेट लिए ।
१९४ रनको लक्ष्य पछ्याएको धनुषा १४ ओभर ४ बलमा ६५ रनमै समेटियो । बाराका कमल गुप्ता ले ३.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे ।
अरनिको यादव ब्याटिङसँगै बलिङमा पनि प्रभावशाली प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका बाराका कप्तान अनिल साह १५७ रन र १३ विकेटसहित ‘प्लेयर अफ दि सिरिज’ घोषित भए ।मधेस प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका टिम सहभागी थिए । विजेता टोलीलाई मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले ट्रफी तथा पुरस्कार राशि बराबरको चेक वितरण गरेका थिए ।
सो अवसरमा नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंह, नेपाल क्रिकेट संघ मधेस प्रदेशका अध्यक्ष सुभाष जयसवाल, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधीर पटेल, प्याप्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याप्सन वीरगञ्जका सचिव अमित आलोकले गरेका थिए ।